Logo

धादिङ क्षेत्र नम्बर २ का उम्मेदवारहरुले विकास योजना यसरी सुनाए, कृषि,पर्यटन र जलविद्युत प्राथमिकतामा



७ मंसिर, धादिङ । धादिङका उम्मेदवाहरुले जिल्लाको विकासका लागि महत्वाकांक्षी योजना सुनाएका छन् । चुनाव केन्द्रित गरेर रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा बोल्दै उम्मेदवारहरुले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार खेम लोहोनीले पर्यटन विकासका पर्याप्त पूर्वाधार बनाएर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए । वाम गठबन्धनका उम्मेदवार लाहोनीले जैविक विविधताको रुपमा विभिन्न हावापानी, वन पैदावार, जडिबुटी र वन्यजन्तु प्रशस्तै भएकाले त्यसको सदुपयोग गरेर जिल्लाको विकास गर्ने आश्वासन दिए ।

आफू नेतृत्व दिन सक्षम भएको दाबी गर्दै स्थानीय स्रोत साधनको सदुपयोग गरेर सबै क्षेत्रको विकासमार्फत रोजगारी सृजना गर्ने उनको भनाई छ ।
भूकम्पका बेला तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले भूकम्प पीडितका लागि केही सहयोग नगरेको आरोप उनले लगाएका छन् । त्यसबेला आफूले पीडितलाई पाँच लाख रुपैयाँ दिनुपर्छ भनेर आवाज उठाएको उनले स्मरण गराए ।

अर्का उम्मेदवार दिलमान पाख्रिनले कृषि, पर्यटन र जलस्रोतको सदुपयोग गरेर जिल्लाको विकास गर्ने आफ्नो योजना रहेको सुनाए । वैज्ञानिक कृषि उद्यमबाट उत्पादन बढाएर जनताको जीवनस्तर उकास्ने उनको दाबी छ ।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पाख्रिनले साना, मझौला र ठूला उद्योग स्थापना गरेर जिल्लालाई समृद्ध बनाउने योजना रहेको बताए छ ।
कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्रीसमेत रहेका पाख्रिनले विगतमा जिल्लाको नेतृत्व गर्ने एमालेका नेताहरुले धादिङलाई बत्ति मुनीको अध्याँरो बनाएको उनको आरोप छ ।

७० वर्षपछि मात्रै वृद्ध भत्ता दिनु उचित नभएको भन्दै उनले अब ६५ वर्ष पुगेपछि भत्ता उपलब्ध गराउने बताए ।
पर्यटन क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर विकास गरिने उनको भनाई छ । त्यसैगर शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि नयाँ योजना ल्याएर काम गर्ने बताए ।

त्यस्तै अर्का उम्मेदवार रमेश धमलाले राजनीतिक स्थिरता नभै विकास हुन नसक्ने औँल्याउँदै पहिलो लक्ष्य राजनीतिक स्थिरता भएको बताए ।
क्षेत्र नम्बर २ क का कांग्रेस उम्मेदवार धमलाले राजनीतिक स्थायित्व र समृद्धिका लागि वाम गठबन्धन बाधक बन्ने तर्क गर्दै उनले राजनीकितक ध्रुविकरण आवश्यकता नरहेको बताए ।

वाम गठबन्धनप्रति आशंका उब्जिएको भन्दै उनले मतदातालाई सचेत हुन आग्रह गरे । लोकतान्त्रिक विधिमा प्रवेश गरिसकेको अवस्थामा कम्युनिष्ट शासनको अभ्यास हुनु देशका लागि घातक हुने उनको तर्क छ ।

स्थिरताको नाममा भएको गठबन्धनले आगामी दिनमा टकराब बढाउने उनको भनाई छ ।
एमाले–माओवादीबिचको पार्टी एकता भने भविष्यले पुष्टी गर्ने उनको तर्क छ ।

धादिङ क्षेत्र नम्बर २ क का प्रदेशसभा उम्मेदवार डा. रामकुमार अधिकारीले विकास र समृद्धीका लागि आफूल बोलेका कुरा पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे । वाम गठबन्धनका उम्मेदवार अधिकारीले सडक, बाटोघाटो, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि आफूले योजना बनाएको उनको भनाई थियो । धादिङमा जलविद्युत उत्पादनको पर्याप्त सम्भावना भएको भन्दै अधिकारीले आफू त्यसका लागि दत्तचित्त भएर लाग्ने बताए ।

चुनावी बहस लागि गृह जिल्ला पुगेका पत्रकार ऋषि धमलालाई त्यहाँका जनताले उच्च प्रशंसा गरेका छन् । जिल्लाको विकासका लागि नेताहरुलाई कठघरामा उभ्याएर जनताको प्रश्न गरेको भन्दै उनीहरुले प्रशंसा गरे । विगतमा पनि नेताहरुलेभन्दा बढि काम धमलाले गरेको सर्वसाधारणको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्