Logo

एकतन्त्रीय साम्यवाद कि लोकतन्त्र छान्ने दिन आएको : उपप्रधानमन्त्री गच्छदार



इटहरी, ७ मंसिर (रासस) : उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीति वाम शक्ति र लोकतान्त्रिक पक्षबीचको धु्रवीकरणमा विभाजित भएकाले अब एकतन्त्रीय साम्यवाद रोज्ने कि लोकतन्त्र भन्ने निर्णय गर्ने दिन आएकामा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

उपप्रधानमन्त्री गच्छदारले आज सुनसरीको दुहवी नगरपालिका क्षेत्रको आफ्नो निर्वाचन क्षेत्र नं ३ पार्टीले आयोजना गरेको विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रलेश तथा चुनावी समारोहलाई सम्बोधन गर्ने क्रममा सो कुराको ध्यानाकर्षण गराउनुभएको हो ।

नेपालको इतिहासका हरेक परिवर्तनका आन्दोलनमा प्रजातन्त्र एवं लोकतन्त्रका पक्षमा जीवन मरणको संघर्ष गर्नुभएका महामानव बिपी कोइराला, गणेशमान सिँह कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेतले मात्र होइन धेरै सपुत युवा–युवतीसमेतले आफूलाई आहुति दिएको एकतन्त्रीय साम्यवाद ल्याउन नभएको पनि उपप्रधानमन्त्री गच्छदारले स्पष्ट पार्नुभयो ।

चुनावी सभासँगै नेकपा (एमाले) संघीय समाजवादी फोरमलगायतका पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएका झण्डै ३०० नेता तथा कार्यकर्तालाई काँग्रेसमा स्वागत गर्दै नेता गच्छदारले सही समयमा लोकतन्त्रका पक्षमा उभिनुभएका युवाले काँग्रेस प्रवेश गर्नुभएकामा धन्यवादसहित स्वागतसमेत गर्नुभयो ।

उहाँले लोकतन्त्रको संस्थागत विकास गर्दै नेपाली जनताले आफ्नो समर्पणबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरी मुलुकको आर्थिक समृद्धितर्फ अग्रसर गराउँदै सम्पूर्ण आदिवासी, जातजाति, मुस्लिम, पिछडा वर्ग, महिला तथा उत्पीडनमा परेका सम्प्रदायसमेतको राज्यमा न्यायोचित सहभागिताका लागि लोकतन्त्रभन्दा अर्को राज्य व्यवस्था उचित हुनै नसक्ने उहाँले दाबीसमेत गर्नुभयो ।

भ्रम बाँड्ने र असम्भव कामलाई सम्भव देखाउन खोजेर आमनेपाली जनतालाई झुक्याउने वाम चरित्रलाई नजिकबाट नियाल्नका लागि हिजैमात्र देशको विध्वंसात्मक माओवादी आन्दोलन उदाहरण कसैले बिर्सिनसकेको तर्क गर्दै उपप्रधानमन्त्री गच्छदारले अहिले चुनावका बेला भएको वाम गठबन्धनको नियत के हो त्यो पहिला प्रष्ट हुनुपर्ने जिकिरसमेत गर्नुभयो ।

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको नेपाललाई आर्थिक, सामाजिक, पर्यटकीय र प्राकृतिक साधन स्रोतले अझ सम्पन्न तुल्याउनका लागि लोकतान्त्रिक शासन व्यवस्था मात्र उपयुक्त रहने पनि उहाँले दाबी गर्नुभयो ।

गुलावी मियाँको अध्यक्षतामा भएको उक्त चुनावी सभामा दुहवी नगरपालिकाका प्रमुख बेद गच्छदार, विद्यार्थी नेता विकास केसी तथा प्रवेशीहरुको तर्फबाट कुन्दन पासवान युगनन्दन मुखियालगायतले लोकतन्त्र र विकासका लागि काँग्रेसको विकल्प नभएको उल्लेख गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्