Logo

संस्थागत विकासका लागि काँग्रेसलाई मतदान गर्न आम मतदातालाई कोइरालाको आग्रह



नवलपरासी, १० मंसिर (रासस):  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ ।

बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका कोइरालाले आफ्नो चुनावी क्षेत्रअन्तर्गत आज देवचुली नगरपालिका–१३ र १५ को विभिन्न स्थानमा घरदैलो गर्ने क्रममा मतदातामाझ यस्तो बताउनुभएको हो ।

महामन्त्री डा कोइरालाले देशमा लोकतन्त्र स्थापित भएमात्र जनताले स्वतन्त्रताको प्रत्याभूत गर्न पाउँछ भन्दै लोकतन्त्रमार्फत नेपाली जनतालाई स्वतन्त्र बनाउने काममा सहयोग गर्न सबैलाई अपिलसमेत गर्नुभयो ।

देशमा अहिले लोकतन्त्र जोगान र जनताको हकअधिकार स्थापित गर्नका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै उहाँले देशको विकास र संविधान संशोधनमार्फत सबै नेपाली नागरिकको अधिकार स्थापित गराउने काम नेपाली काँग्रेसले गर्ने दाबी गर्नुभयो ।

महामन्त्री कोइरालाले घरदैलोको क्रममा बोटे समुदायले भोग्दै आएको विभिन्न समस्या लालपुर्जा, निकुञ्जका वन्यजन्तुका समस्या, नदी कटानलगायतको समस्या सामधान गर्ने काममा आफू प्रतिबद्धत रहेको धारणा व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्