Logo

राप्रपाका महामन्त्री प्रधानसँग स्पष्टीकरण माग



काठमाडौँ, १० मंसिर  : निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र आफ्नो पार्टीको निर्वाचन चिह्न राखी प्रचारप्रसार गरेको सूचना प्राप्त हुन आएको जनाउँदै आयोगले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत देखिएका कारण महामन्त्री प्रधानसँग त्यस विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले महामन्त्री प्रधानलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, “यहाँलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आजको निर्णयअनुसार अनुरोध छ ।

यसैगरी निर्वाचन आयोगले रत्नराज्य माध्यामिक विद्यालय, बानेश्वरका प्रधानाध्यापक डा गीता खरेलसँग पनि स्पष्टीकरण सोधिएको छ ।

सामाजिक सञ्जाल युट्यूबमार्फत काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा मत मागी निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टाभित्र आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्वाचन प्रचारप्रसारको क्रममा आचारसंहिता विपरीत सार्वजनिकस्थलमा टाँगिएका चुनाव चिह्न अंकित झण्डा तथा पार्टीका झण्डाको माला, तोरन हटाउन र हटाउन लगाउन तथा त्यस प्रकारका माला तोरनहरु राख्ने कार्य तत्काल रोक्नका लागि निर्देशन दिएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्