Logo

एमाले–माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने महासेठको दाबी



महेन्द्रनगर, धनुषा, १० मंसिर  : नेकपा (एमाले)का नेता रघुवीर महासेठले वाम गठबन्धनले बहुमत ल्याउने बताउनुभएको छ ।

धनुषाको मिथिला विहारी नगरपालिकाको ठेरामा आज आयोजना गरेको चुनावी सभामा उहाँले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने दाबी गर्नुभयो ।

वाम गठबन्धनबाट धनुषा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता महासेठले मधेशको हित र विकास एमालेबाहेक अरु कुनै पार्टीले नगरेको र गर्नै नसक्ने बताउँदै “वामपन्थीबाहेक मधेशको विकास कुनै दलले गर्न सक्दैन, किनभने निर्वाचनपछि देशमा वाम गठबन्धनको बहुमतको सरकार बन्दै छ ।”

आफ्नो पार्टी धेरै लामो समयसम्म सरकारमा बस्न नपाएकाले जनताले चाहेको जस्तो विकास गर्न नसकेको बताउँदै उहाँले “राष्ट्रिय स्वाभिमान, मुलुकको समृद्धि र राष्ट्रिय एकताका लागि ‘अपन मधेश सम्पन्न मधेश’ को नारालाई साकार पार्न आफ्नो उम्मेदवारी हो,” भन्नुभयो ।

नेता महासेठले यस क्षेत्रका सम्पूर्ण स्थानीय तहका वडालाई मुख्य राजमार्गसँग जोड्ने, औद्योगिक क्षेत्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, किसानलाई फसल उत्पादन बढाउनका लागि पूर्ण सिँचाइको व्यवस्था मिलाउने तथा युवाको विकासमा खेलकुद तथा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर स्तर सुधार गर्नेलगायतका योजना आफ्नो रहेको जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्