Logo

ओलीलाई चौधरीको प्रश्न : माओवादीलाई चितवन दाईजो दिएर हामीले सुख पाएनौं, तपाईले घर दिएर सुख पाउनुहुन्छ त ?”



दाङ, १५ मंसिर । दाङ क्षेत्र नम्बर ३ का प्रदेश सभा क बाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्धवार रहेका डिल्ली चौधरीले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने र सरकार बनाउने ठोकुवा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका छन् । देशैभरि नेपाली कांग्रेसको पक्षमा व्यापक जनलहर देखिएकोले आफ्नो पार्टीले चुनाव जित्नेमा कुनै शंका नभएको उनको जिकिर थियो । उनले भने,“हामी बहुमत ल्याउँछौं, २१ गतेको निर्वाचनपछि यहाँले हेर्नूहोला ऋषिजी, यो लेखेर राख्दापनि हुन्छ, हामी प्रत्यक्षतर्फ ७५ देखि ८० सिट जित्दैछौं।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले शंकर पोखरेललाई पाहुना उम्मेद्धवारको संज्ञा दिए । उनले भने,“उहाँको पार्टीलाई सोध्नुहोस्, माओवादीलाई अपमान गर्नकोलागि यो गर्नुभएको हो। यो माओवादीको दाबेदार रहेको क्षेत्र हो, तर माओवादी नेता तथा कार्यकर्ताहरुलाई अपमान भएको छ।”

जनताले आफूलाई विजयी गराउँने उनको दाबी थियो । चौधरीले थपे,“नेपाली कांग्रेसलाई जिताउने लहर चलेको छ । म त पार्टीको सिपाही हुँ, त्यसैले म अत्यधिक बहुमत ल्याएर जित्दैछु।”
एमाले र माओवादी केन्द्रको वाम गठबन्धन कुनै हालतमा पनि धेरै टिक्ने उनको ठोकुवा थियो ।

उनले भने,“यो गठबन्धन दिगो हुने सक्दैन, हामीले त माओवादीसँग चुनावी तालमेल गरेर देखाईसकेका छौं । हामीले पनि अनुभव गरिसकेका छौं । ओली र प्रचण्डको कुकुर विरालोको झगडा हामीले हेरिसकेका छौं, उनीहरुले तल्लो स्मरतमा उत्रिएर गाली गरेको पनि हामीले देखेका छौं । झगडा गर्ने पार्टीहरु अहिले केही दिनकालागि मिलेका छन् ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति व्यंग्य गर्दै चौधरीले भने,“नेपाली कांग्रेसले त चितवन दाईजो दियो, तर उहाँहरु(एमालेका साथीहरुले) त ४० प्रतिशतको कुराले घर नै दिँदैहुुनुहुन्छ । अहिले भन्नुहुन्छ, उहाँहरु अब धेरै लामो समयसम्म सँगै रहनहन्न । आजैको मितिमा मेले ठोकुवा गरें । दाईजो दिएर हामीले सुख पाएनौं, उहाँले घर दिएर सुख पाउनुहुन्छ त ?”

उनले उक्त क्षेत्र दाङमा सबैभन्दा बढि विकास भएको क्षेत्र भएको दाबी गरे । उनले भने,“सबैभन्दा बढि विकास भएको क्षेत्र यही हो, बाटाहरु बनेका छन्, विकासका गफ कम्युनिष्टहरुले गर्दै नगरे हुन्छ, दाङमा अहिले विकासका कामहरु सुरु भएको छ, पानी पु।्याउने, कम्तिमा सय वटा बाटाहरु पीच गर्ने काम मैले गरेको छु, जनताका घरदैलोमा शुद्ध खानेपानी पुरयाउने अभियान सुरु भएको छ । डिल्लीचौधरीले हो नि बनाउने, कहाँको शंकर पोखरेल,उहाँको कुरा नगर्नुहोस्।”

उनले पाँच नम्बर प्रदेशको मुख्यमन्त्री आफू पनि बन्न सक्ने संभावना तेर्साए । उनले थपे,“म किन मुख्यमन्त्री हुन सक्दिन्। कांग्रेसले पत्यायो भने म मुख्यमन्त्री हो । एकदमै म योग्य हुँ ।”
चौधरीले विकासका लहरु आएकोले निर्वाचनपछि दाङमा विकासको मुहार फेरिने समेत जिकिर गरे ।

उनले भने,“परिवर्तनका कामहरुसुरु भैसक्यो । नेपाल अधिराज्यमा नभएका पुलहरु यो जिल्लामा बन्दैछन् । ४७ वटा पुलहरु बन्दैछन् । त्यसैले यी कामहरु हामीले गरेका छौं, डिल्ली चोधरी र दिपक गिरीको खाँचो छ, हामीले सुरु गरिसकेका छौं । विकास गर्ने पार्टी नेपाली कांग्रेस हो। काम गर्न सक्ने हामी नै हौं ।”

चुनावपछि नेपाली कांग्रेसको बहुमत आउने उनको दाबी थियो । उनले भने,“ऋषिजी तपाई कसरी बहुमत आउँदैन भनेर भन्दैहुनुहुन्छ, हो वामपन्थीहरु मिलेका छन्, तर जनता मिलेका छैनन । काम नै नगरी गफ लगाउनेहरुलाई जनताले भोट दिँदैनन् ।”

विगतमा आफ्नै पार्टीभित्र अन्तरकलह र विवाद भएकोले कांग्रेसले सोचेकोजति मत ल्याउन नसकेपनि यो पटक पार्टीभित्र एकता भएको र कुनै पनि किसिमको कलह नभएकोले बहुमत ल्याउने उनको दाबी थियो । उनले थपे,“अब हामी जित्छौं । देशभरि नै हामी जित्दैछौं ।” बहुमत र दुईतिहाईको सपना देख्ने छुट कम्युनिष्टहरुलाई भएकोले मंसिर २१ गतेपछि ती सपनाहरु हराएर जाने भन्दै चौधरीले व्यंग्य गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot