Logo

प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल ? एमालेका शंकर पोखरेल र विष्णु पौडेलबिच नै मतभेद, कपिलवस्तु र नेपालगञ्ज पनि चर्चामा



१५ मंसिर, काठमाण्डौ । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका दाबेदार मानिएका नेकपा एमालेका नेता शंकर पोखरेलले उक्त प्रदेशको राजधानी दाङलाई बनाउने आश्वासन मतदातालाई दिइरहेका छन् । अर्कोतिर एमालेकै नेता विष्णु पौडेलले प्रदेश नम्बर ५ को राजधानी बुटवललाई बनाउने भन्दै चुनावी प्रचारमा व्यस्त छन् ।

एउटै दलका दुई नेताले एउटै प्रदेशको राजधानी फरक फरक शहरलाई प्रस्ताव गर्दा एमालेभित्र विवाद बढ्ने देखिएको छ ।
रिपोर्टस क्लब नेपालले गरेका चुनाव लक्षित विशेष साक्षात्कार कार्यक्रममा पनि पोखरेलले दाङ र पौडेलले बुटवललाई राजधानी बनाउने बताएका थिए । दुवै नेताले आफू अनुकूल हुने गरी छानेका शहर अहिले भोट माग्ने माध्यम बनेको छ ।

बुटवल आसपासका मतदातामाझ मत माग्नु पर्ने भएकाले पौडेलले बुटवललाई नै राजधानी बनाउने आश्वासन दिइरहेका छन् भने दाङबाट चुनाव लडेका पोखरेलले पनि दाङलाई नै राजधानी बनाइछाड्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नु बाध्यता बनेको छ ।

प्रदेशसभाका लागि चुनाव लडेका र प्रदेश नम्बर ५ को मूख्यमन्त्रीका रुपमा चर्चा गरिएका पोखरेलले चुनावी सभामा उपस्थित भएका स्थानीयलाई पनि आफ्नो मुख्य एजेण्डा नै दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने रहेको बताउँदै आएका छन् । रिपोर्टस क्लबसँग कुरा गर्दा पनि उनले भने, “प्रदेश नम्बर ५ को राजधानी दाङ बाहेक अरु विकल्प हुन सक्दैन ।”

यस्तै दाबी पौडेलको पनि छ । उनले बुटवललाई नै राजधानी बनाउने आफ्नो एजेण्डा भएको आश्वासन दिदै मत मागिरहेका छन् । एउटै दलका दुई शीर्ष नेताले फरक फरक शहरलाई एउटै प्रदेशको राजधानी बनाउने भनेर प्रचार गरिरहँदा मतदातामा कस्तो सन्देश जान्छ, त्यो मतदाताले नै बुझ्नुपर्छ ।

पोखरेल र पौडेल दुवै पार्टीभित्र राम्रै पकड भएका नेता हुन् । त्यसैले पनि प्रदेश नम्बर ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा एमालेभित्रै विवाद चर्किने सम्भावना बढ्दै गएको छ ।
त्यसो त प्रदेशको राजधानी कहाँ बनाउने भन्ने कुरा एमालेको मात्रै निर्णयले हुने होइन ।

नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधीसभाका उम्मेदवार कृष्ण बहादुर महराले पनि दाङलाई जसरी पनि प्रदेश नं ५ को राजधानी बनाएरै छोड्ने बताउँदै आएका छन् । पार्टीभित्र शीर्ष नेताको हैसियतमा रहेका महराले पनि पोखरेलको काँधमा काँध थापिदिदा पौडेलेको बल कम हुने अनुमान गर्न सकिन्छ ।

प्रदेशको सीमाङ्कनको विषय टुङ्गिए पनि नामाकरणको विषयमा सहमति नजुटिसकेका बेला हरेक जिल्लाका उम्मेदवारहरुले यतिबेला भोट माग्ने आफ्नो मूल एजेन्डा प्रदेशको राजधानी बनाएका छन् । उनीहरुले सम्भव होस वा नहोस् आफ्नै जिल्लामा प्रदेशको राजधानी बनाउने भन्दै जनतासागमत मागिरहेका छन् । आफ्नो जिल्ला प्रदेशको राजधानी हुन सक्नेमा उनीहरुका आफ्नै खाले तर्क बितर्कहरु समेत रहेका छन् ।

प्रदेश नं. ५ को राजधानीका रुपमा यतिबेला रुपन्देहीको बुटवल, कपिलबस्तु र दाङ चर्चामा रहेको छ । यी जिल्लामा उम्मेदवारहरु यतिबेला आफ्नो क्षेत्रलाई जसरी पनि प्रदेशको राजधानी बनाउछु मलाई भोट दिएर जिताँउनुस भन्दै घरदैलो गरिरहेका छन् ।

प्रदेश नंबर ५ को राजधानी बुटवल बनाउने कि दाङ बनाँउने कि, कपिलबस्तु बनाउने भन्नेमा उम्मेदवारहरु बीचको जुँगाको लडाई सतहमा आएको छ । प्रदेश नं. ५ अन्र्तगत गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देहीका प्रतिनिधीसभा तथा प्रदेश सभाका उम्मेदवारहरु अहिले प्रदेश राजधानी बुटवल बनाँउने भन्दै घर घरमा भोट माग्न ब्यस्थ देखिएका छन् । यता पूर्वी रुकुम, रोल्पा, प्युठान र दाङका उम्मेदवारहरु भने दाङलाई प्रदेश राजधानी बनाउने भन्दै घर घरमा कुदिरहेका छन् । यता कपिलबस्तुका उम्मेदवार कपिलबस्तुलाई र बाँके, बर्दियातिरका उम्मेदवारहरु भने नेपालगञ्जलाई पाँच नंबर प्रदेशको राजधानी बनाँउछु भन्दै आश्वासन दिइरहेका छन् ।

राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दीपक बोहोराले पनि प्रदेश नम्बर ५ को राजधानी बुटवल नै बनाईछोड्ने दावी गरेका छन् ।
कपिलबस्तु क्षेत्र नं. १ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेव र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पूर्व राजदुत दीप कुमार उपाध्याय चुनावी मैदानमा छन् । दुवै उम्मेदवारले प्रदेश नं. ५ को राजधानी कपिलबस्तु बनाउन लागिपर्ने बताएका छन् ।

चुनावको मुखमा एमाले नेता बिष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, माओवादी नेता टोपबहादुर रायमाझी, कांग्रेस नेताहरु बालकृष्ण खाँण, चन्द्र भण्डारी राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरा लगायतका नेताहरु बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाउने आश्वासन दिइरहेका छन् भने दीप कुमार उपाध्याय, चक्रपाणी खनाल लगायतका नेताहरु भने कपिलबस्तुलाई र शंकर पोखरेल, कृष्णबहादुर महरा, बर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरु भने दाङलाई प्रदेश नंबर ५ को राजधानी बनाउने आश्वासन दिइरहेका छन् ।

५ नंबर प्रदेशको राजधानी कहाँ बनाउने भन्नेमा निर्वाचन पछि पनि विवाद निम्तने कुरा अहिले उम्मेदहरुले जनतालाई बाढेको आश्वासनबाट थाहा पाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot