१७ मंसिर, तनहुँ । नेपाली काग्रेस वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले आफ्नो पहल र प्रयासमा तनहुँमा धेरै विकास भएको बताए ।
५ पटकसम्म निर्वाचित हुँदा पनि काग्रेस वरिष्ठ नेता पौडेलले जिल्लाको विकास निर्माण सम्बन्धी केही कार्य नगरेको भनि वाम गठबन्धनका उम्मेदवारहरुले आरोप लगाएका थिए । तर पौडेलले पृथ्वीराजमार्ग र दमौलीका निजी आफूले नबनाएको र अरु सबै विकास निर्माण कार्य आफूले गरेको भन्दै जवाफ दिएका छन् ।
कृषि विकास कार्यालयको जग्गासँग साटफेर गरेर व्यास नगरपालिका व्यवस्थित बनाएको उदाहरण पौडेलले दिए । त्यस्तै जिल्लाको सदरमुकाम दमौलीसँग सडक निर्माणदेखि कालोपत्रे गर्ने काम आफ्नै अगुवाईमा भएको पौडेलको भनाई थियो ।
त्यसमा पनि चितवनसँग जोड्ने बुद्ध सिं मार्ग निर्माण गर्ने देखि घुमाउने मोटर गुड्ने पक्की पुल बनाउने कार्य समेत आफ्नै अगुवाई भएको पौडेलको दाबी छ । त्यसैगरी दमौलीको खानेपानी आयोजना निर्माण गर्नेदेखि जिल्लाका महत्वपूर्ण खानेपानी सडक र टेलिफोन लाइन विस्तार आफ्नै पहलमा भएको पौडेलको भनाई छ ।
नेता पौडेलले तनहुँ जिल्लामा १ सय ४० मेगावटको तनहुँ हाइड्रो आफ्नो पहलमा भएको बताएका छन् । यसका अलवा १ सय ४ मेगावटको सेकेण्ड तनहुँ हाइड्रो निर्माणका लागि स्वीकृती प्रदान गर्ने विषयमा समेत आफूले भूमिका निर्वाह गरेको पौडेलको भनाई रहेको छ ।
बेलचौतारा जिपी कोइराला श्वास प्रश्वास केन्द्रलाई जिपी कोइराला स्वास्थ्य प्रतिष्ठान बनाउने काम समेत आफ्नै अगुवाईमा भएको पौडेलले जानकारी दिए । त्यस्तै बुद्ध सिं मार्ग निर्माण देखि जिल्लाका विभिन्न भागमा कच्ची सडक निर्माण सम्पन्न भएको र त्यसलाई आगामी दिन पीच गर्ने प्रकिया अगाडि बढेको समेत पौडेलले बताए ।
त्यस्तै राष्ट्रिय राजनीतिमा वास्तविक शान्ति स्थापना गर्न गिरिजाबाबु पछि आफूले भूमिका निर्वाह गरेको पौडेलको दाबी थियो ।
पौडेलले मधेशको आन्दोलन मत्थर पारेर स्थानीय तथा प्रतिनिधी सभा निर्वाचनमा सहभागी हुने वातावरण समेत आफूले बनाएको बताए ।
त्यस्तै पहिलो संविधानसभामा हारेको पार्टीलाई दोस्रो संविधानसभाको चुनावमा आफूले पहिलो नम्बरको पार्टी बनाएको समेत पौडेलको भनाई रहेको छ ।