Logo

चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू



काठमाडौं, २३ मंसिर । वाम गठबन्धनले देशभर जीतको लहर ल्याइरहँदा फाट्टफुट्ट नेपाली काँग्रेसका उम्मेदवारहरूले जित हासिल गरे । काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्रलाई सात सय मतान्तरले प्रकाशमान सिंहले पराजित गर्दै काँग्रेसको खाता खोलेपछि अर्को हस्तीहरू गगनकुमार थापा र डा. मिनेन्द्र रिजालले जित दर्ता गरे । युवा तथा खेलकुदमन्त्री राजन केसीले समेत काठमाडौंबाट जित्दा काँग्रेसका धेरै हस्तीहरू पराजित भइरहेका थिए ।

बहुदल आएपछि कहिले चुनाव नहारेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजयको नजिक पुगेका छन् । एमालेका किसान श्रेष्ठले मतान्तर बढाउँदै लगेबाट हार्ने अवस्था बनेको हो ।

झापाबाट पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङ्देनबाट पराजित भए । पटक पटक अर्थमन्त्री भएका डा.रामशरण महत र पटक पटक मन्त्री भएका अर्जुननरसिंह केसी दुवै गृहजिल्ला नुवाकोटबाट पराजित भए ।

उनीहरूलाई क्रमशः माओवादी र एमाले उम्मेदवारहरूले पराजित गरेका हुन् । गृहजिल्ला मोरङबाट डा.शेखर कोइराला पराजित भए । उनलाई एमालेका लालबाबु पण्डितले पराजित गरेका हुन् । मोरङबाट माओवादी अमललाल मोदीबाट पूर्व अर्थमन्त्री महेश आचार्य पराजित भए ।

सुनसरीबाट विजयकुमार गच्छेदार समेत पराजय उन्मुख छन् । उनी भगवती चौधरीभन्दा पछाडि छन् । धनुषामा राजेन्द्र महतोभन्दा पछाडि परेका विमलेन्द्र निधि पराजयको नजिक पुगेका छन् । बारामा श्रममन्त्री फर्मूल्लाहा मन्सुर प्रतिद्वन्द्वीभन्दा पछाडि छन् । काठमाडौं ५ मा पूर्वमन्त्री डा. प्रकाशशरण महत एमाले महासचिव इश्वर पोखरेलभन्दा पछाडि छन् । उनी हार्ने निश्चितप्रायः छ ।

संचारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका अग्नि सापकोटाबाट पराजित भए । पूर्वमन्त्री एनपी साउद हारको नजिक छन् । चन्द्र भण्डारी गुल्मीबाट प्रदीप ज्ञवालीभन्दा पछि परेसँगै हार्ने अवस्था बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्