Logo

पूर्व प्रधानमन्त्री सबै जित्दा पूर्व उपप्रधानमन्त्रीहरू पराजित



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन परिणाम अनुसार पूर्व प्रधानमन्त्रीहरू कोहीपनि पराजित भएनन् । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले छ पटक लगातार चुनाव जितेर इतिहास रचेका छन् । लोकतन्त्रपछि भएको संसदीय निर्वाचनमा देउवा कहिले नहार्नेउम्मेदवार बनेका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सानदार जित हासिल गरेका छन् । उनी झापाबाट निर्वाचित भएका हुन् । पहिलो संविधानसभा चुनावमा उनी झापाबाट पराजित भएका थिए । इलामबाट झलनाथ खनाल विजयी भए । माधवकुमार नेपाल काठमाडौंबाट विजयी भए । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखाबाट कठिन जित हासिल गरे । उनले विगतमा एउटै पार्टीमा रहेका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । दुवै बीच रोचक प्रतिष्पर्धा भएको थियो ।

पूर्व उपप्रधानमन्त्रीहरू कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, कमल थापा, विजयकुमार गच्छेदार र नारायणकाजी श्रेष्ठ हारेका छन् । सिटौला झापाबाट राप्रपाका राजेन्द्र लिङ्देनबाट पराजित भए । निधि धनुषाबाट राजेन्द्र महतोबाट, थापा मकवानपुरबाट कृष्णप्रसाद दाहालबाट र श्रेष्ठ गोरखा बाबुराम भट्टराईबाट पराजित भएका हुन् । गच्छेदार सुनसरीबाट भगवती चौधरीबाट पराजित भए । उनी पटक पटक उपप्रधानमन्त्री बनेर कीर्तिमान कायम गर्नेमा पर्छन् ।

पूर्व उपप्रधानमन्त्रीहरू बामदेव गौतम र रामचन्द्र पौडेल समेत हारको नजिक छन् । पौडेल पराजित हुने निश्चितप्रायः भएको छ । उनी विगतका पाँच वटा चुनावमा लगातार जित्ने मध्येका हुन् । यसपटकको हारले उनलाई देउवा बराबर चुनाव जित्ने इतिहास बनाउनबाट वञ्चित गर्नेछ । वामदेव गौतम बहालवाला मन्त्री सञ्जय गौतमभन्दा पछाडि छन् । अन्तिम मतगणना भइरहँदा सञ्जयले बाजी मार्ने अवस्था छ ।

चारजना पूर्व उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, कृष्णबहादुर महरा, भीम रावल र इश्वर पोखरेलमात्र चुनाव जित्ने भाग्यमानी देखिएका छन् । पूर्व उपप्रधानमन्त्रीहरू अमिक शेरचन, सीपी मैनाली, चित्रबहादुर केसीलगायत प्रत्यक्षतर्फ चुनाव लडेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्