Logo

‘सुदुरपश्चिममात्र देख्ने’ देउवालाई गृहक्षेत्रबाट झड्का



काठमाडौ, २४ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्र र बाहिरबाट गम्भीर आरोप लाग्थ्यो—सुदुरपश्चिमेलीलाई मात्र हेर्ने ! देउवा शक्तिमा आउँदा सुदुरपश्चिमेलीले मात्र लाभ लिएको गुनासो काँग्रेसभित्र चलिरह्यो ।

जयबहादुर चन्दलाई आइजीपी बनाउनका लागि उनले लिएको अडानले आरोपलाई बल पुग्यो । पार्टीमा आफ्ना विश्वासपात्र मानिएका विमलेन्द्र निधिलाई समेत चिढ्याएर नवराज सिलवाललाई पन्छाएर चन्दको पक्षमा निर्णय लिन तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई वाध्य पारेका थिए देउवाले ।

सुदुरपश्चिम र त्यहाँका बासिन्दा रहेका कर्मचारी, प्रहरी र सर्वसाधारणको हितमा धेरै काम गरेका देउवालाई सबैभन्दा झड्का त्यही क्षेत्रबाट पुग्यो । चुनावी नतिजा अनुसार प्रतिनिधिसभातर्फ सुदुरपश्चिमबाट शेरबहादुर देउवा बाहेक कुनै उम्मेदवारले नजित्ने निश्चित भएको छ । देउवानिकट हस्तीहरू एनपी साउद हार्ने निश्चितप्रायः छ ।

देउवा पत्नी आरजु देउवा कैलालीबाट एमालेका नारदमुनी रानाबाट पराजित भइन् । रमेश लेखक जितका लागि संघर्षरत छन् । सुदुरपश्चिमबाट निल हुनबाट देउवाको राजनीतिक उचाईले जोगायो ।

चुनावी हारको समिक्षा सुदुरपश्चिमका काँग्रेस नेता कार्यकर्ताहरूबाट भइरहँदा अन्य क्षेत्रकाले देउवाले आफ्नो क्षेत्रलाई मात्र बढी महत्व दिदा समेत चुनावी फाइदा लिन नसकेको विश्लेषण गरिरहेका छन् ।

राजनीतिमा एउटा क्षेत्रलाई मात्र ध्यान दिदा अर्को क्षेत्र निकै चिढिदा काम गरेको क्षेत्रमा समेत नोक्शान पुग्नसक्छ । देउवाले सुदुरपश्चिमको नतिजाबाट पाएको झड्काले यही संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot