Logo

गणतन्त्रका हिमायती सिटौलालाई राजावादी लिङ्देनले चखाए लज्जास्पद हार



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले हराउँदै राजेन्द्र लिङ्देन विजयी भएसँगै अहिले राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्। लिङ्देनको जितसँगै सिटौलाको राजनीतिक एजेण्डाको समेत हार भएको छ ।

आज अपरान्ह सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए।

०६२/६३ को जनआन्दोलनपछि गणतन्त्रको पक्षमा खरो उत्रिएका नेता सिटौला नै राजावादी नेतासँग पराजित भए । तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको दुतको रुपमा उनले तत्कालिन नेकपा माओवादी केन्द्रका नेता प्रचण्डसँग वार्ता गरेका थिए ।

राजा फाल्नको लागि सक्रिय भूमिका र गिरिजाबाबुको दुतको रुपमा पटक पटक त्यतिवेला पूर्वराजा ज्ञानेन्द्र शाहसँगपनि उनले वार्ता गरेका थिए । उनले मुलुक गणतन्त्रको यात्रामा अघि बढिसकेकोले अब राजावादीहरुको कुनै भूमिका नेपाली राजनीतिमा नहरने बताउँदै आएका थिए ।

तर, दुर्भाग्य गणतन्त्र ल्याउन सहकार्य गरेका दलद्धय एमाले र माओवादी केन्द्रको सहयोगमा नै सिटौलालाई राप्रपाका लिङ्देनले नराम्रो हार चखाए । सिटौलाको यो हारलाई राजनीतिक झापडको संज्ञा समेत दिनेहरुको कुनै कमी छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot