Logo

प्रचण्ड-ओली भेट आज र भोलि नहुने, चितवनमै प्रचण्डको व्यस्तता



चितवन, २६ मङ्सिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् ।

वाम गठबन्धनको प्रत्यक्षतर्फ दुईतिहाइ विजय निश्चित भैसकेको अवस्थामा सरकार गठन र पार्टी एकीकरणबारे एमाले अध्यक्ष केपी ओलीसँगको संवाद अरू दुईदिन पर सर्ने भएको छ । दाहाल आज काठमाडौं आउने र दुई अध्यक्षबीच भेट हुने बताइएको थियो ।

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुँदैछ ।

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुँदैछ । संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ ।

मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिएका छन् । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा (एमाले)का कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामलाल महतो पनि सहभागी छन् ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आएका हुन् । उनले राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गरे । दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे । -रासस



प्रतिक्रिया दिनुहोस्