Logo

निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा हुन्छ : नेता नेपाल



काठमाडौँ, २६ मंसिर : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अब छिट्टै आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने बताउनुभएको छ ।

शङ्खरापुर नगरपालिकाका विभिन्न वडा तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीसँग आज भेटघाटपछि साँखुमा आयोजित सभामा उहाँले मत परिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया शुरु गरिने बताउनुभयो ।

हालै सम्पन्न निर्वाचनमा विजयी भएपछि नेता नेपालले त्यस क्षेत्रका जनतालाई दुवै पार्टी एकता हँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने जानकारी गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकमा संक्रमणकालको अन्त्य भएको बताउँदै अब पूर्वाधार विकास तथा निर्माणका माध्यमबाट देशमा आर्थिक समृद्धिका कार्यलाई अगाडि बढाइने प्रस्ट पार्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका नेता नेपालले साँखुको ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्ने तथा त्यस क्षेत्रका सम्पदास्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि नाङ्लेभारे तथा जर्सिङपौवाका विभिन्न क्षेत्रमा बाजागाजासहित विजयी जुलुस निकालिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्