Logo

विवेकशील साझा पानीको फोका



काठमाडौ, २७ मंसिर । चुनावताका जब कसैले फेसबुक र ट्वीटर खोल्थ्यो विवेकशील साझा पार्टी र उसका उम्मेदवार सम्बन्धि सकारात्मक सन्देश र समाचारहरू । विशेषगरी किशोरावस्था र युवावस्थाका मतदाताको फेसबुक र ट्वीटरलाई मध्यनजर राखी फेसबुक पेजमा त्यस्ता सन्देशहरू आउथ्यो । यसका पछाडि विवेकशील साझाको डिजिटल राजनीति र रणनीतिक चार्तुयता मुख्य कारण थियो । फेसबुक र ट्वीटरमा करोडौं रकम खर्च गरेर त्यस्ता सूचनाहरू प्रायोजित रूपमा राखिएका थिए ।

लामो तयारीपछि रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टी र उज्ववल थापाले स्थापना गरेको विवेकशील पार्टीबीचको एकता पछि विवेकशील साझा बनेको थियो । स्थानीय चुनावमा फेसबुक र ट्वीटरलाई अधिकतम खर्च गरेर विवेकशीलले रञ्जु दर्शनाको प्रचारलाई सशक्त बनाएर जुन मत हासिल गरेको थियो त्यही रणनीति प्रतिनिधिसभा र प्रदेशको चुनावमा अपनाएको थियो । जुन केही हदसम्म सफल समेत भयो ।

फेसबुक र ट्वीटरका अलावा गनेचुनेका मिडियामा मोटो रकम खर्च गरेर विवेकशील साझाले लामो राजनीतिक अनुभव सँगालेका नेताहरूलाई अप्ठ्यारोमा पारेका थिए । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंहले विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रलाई कठिनताका साथ पराजित गरे । सिंहले नाम चलेको एक टेलिभिजनलाई चुनौतीका साथ भनेका थिए—राष्ट्रिय स्तरको प्रतिष्ठित मिडियाले एक पक्षीय समाचार दिन मिल्छ ? मिडिया व्यवस्थापनमा रवीन्द्र सफल भएका थिए । उनी आफै बीबीसीमा काम गरेकाले त्यसको तौरतरिका थाहा छँदै थियो ।

सामाजिक सञ्जाल, टेलिभिजन र पत्रपत्रिकाका माध्यमले प्रोपोगाण्डाहरू धेरै मच्चाएपनि विवेकशील साझा राष्ट्रिय पार्टी नबन्ने निश्चित भएको छ । रवीन्द्र मिश्रको हारसँगै उसको भविष्यबारे टिकाटिप्पणी भइरहेको छ । समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने सम्भावना कमजोर भइसकेकाले विवेकशीलबाट कोही पनि प्रतिनिधिसभामा जान नसक्ने अवस्था क्षीण भएको छ । प्रदेशसभातर्फ प्रदेश नम्बर ३ मा मात्र सम्भावना छ । केन्द्रमा सरकार गठनमा उसको कुनै भूमिका हुँदैन । यसले उसको वेग कमजोर हनुसक्ने देखिएको छ ।

विवेकशील जुन चर्चामा आयो त्यो चर्चा भविष्यमा रहिरहने हो होइन ? उसको राजनीतिको आधार शहर केन्द्रित टाठाबाठाहरू मात्र रहेका छन् । उसले जुन मुद्याबाट उठ्न खोज्यो त्यो मुद्या तल्लो तहका जनतालाई छुने प्रकारको छैन । राजनीतिमा मुद्या महत्वपूर्ण हुन्छ । भारतमा दिल्ली केन्द्रित राजनीति गरेर प्रभावशाली बनेको आम आदमी पार्टीले भ्रष्टाचारविरुद्धको आवाजबाट आफूलाई स्थापित ग¥यो । उसले बाटो बडार्ने, अटोरिक्सा चलाउने र सुकुम्बासीको मन जितेको थियो । त्यसैले आफूलाई प्रभावशाली बनाउन सक्यो ।

नेपालमा आम आदमी जस्तै बन्ने प्रयोग डा.बाबुराम भट्टराईले गरे तर सफल भएनन् । विवेकशीलले पनि त्यही प्रयोग गरेको छ । विवेकशील साझा पार्टी अस्थिर र लाभका पछाडि दौडने शहरी युवाको समर्थन लिनमा केन्द्रित भयो । यसले उसको दीगो राजनीतिक सम्भावनालाई कमजोर बनाइदिएको छ । विवेकशील पानीको फोका जस्तै भुक्क फुल्यो । त्यो फोका चुनावपछि फुट्ने अवस्था नकार्न सकिन्न ।

विवेकशील आफै पानीको फोका बनेर गएपनि शहरी टाठाबाठा युवाहरूलाई राजनीतिमा आकर्षित गर्न सफल भयो । युवाहरू माझा राजनीतिप्रति वितृष्णा बढिरहँदा विवेकशीलले आकर्षण जगायो । विवेकशील रहला नरहला तर उसलाई पढेगुनेका क्षमतावान् नयाँ पीढीमा राजनीतिप्रति आकर्षण बढाएको जस जान्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot