Logo

मधेशीको माग पूरा गर्ने कि हामीलाई फेरी बोर्डरमा लैजाने भन्ने कुरा सरकारमा निर्भर हुन्छ : महेन्द्र राय यादव, नेता, राजपा



मधेशी गठबन्धन अर्थात राजपा र संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ १९ सिट जितेका छन् । राजपाले १० र फोरमले ९ सिट जितेका हुन् । प्रदेशसभातर्फ राजपाले कूल १६ र फोरमले २४ सिट जितेका छन् । प्रदेश नम्बर २ मा यि दुई दलको बहुमत आएसँगै प्रदेश सरकार यिनै दुई दल मिलेर बनाउने भएका छन् । चुनावी नतिजा, प्रदेश सरकार गठन र आगामी राजनीतिक बाटोका विषयमा राजपाका नेता महेन्द्र राय यादवसँग पत्रकार ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम जनता जान्न चाहन्छन्का लगि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मधेशमा तपाईहरुको विजय भएको हो ?
जनताले आफ्नो त्याग र शहीदको सपना अनि मधेश आन्दोलनको औचित्य पुष्टी हुने गरी हामीलाई मतदान गरेका छन् ।

अब प्रदेश नम्बर २ मा कुद दलको नेतृत्वमा सरकार बन्छ ?
फोरम र राजपाबिचको तालमेलले अनुकूल नतिजा ल्याएको हो । जुन दल ठूलो बन्छ, उसैको मुख्यमन्त्री बन्छ । अहिलेसम्मको स्थितीले फोरम ठूलो देखिएको छ । अब समानुपातिकको नतिजा सार्वजनिक भएपछि जुन ठूलो दल बन्छ, त्यसैले सरकार बनाउँछ । हामी मिलेर अगाडि बढ्छौँ ।

तपाईहरुबिच पार्टी एकता पनि हुन्छ ?
जनताले दिएको जनादेश अनुसार भविष्यमा पार्टी एकता पनि हुन्छ । पार्टी एकताको लागि वातावरण बनेको छ । चुनावी तालमेलले हामीलाई एकठाउँमा ल्याउन सहयोग गरेको छ । पार्टी एकता भयो भने देशको स्वाधिनताको लागि नयाँ शक्ति बन्न सक्छ ।

अब संविधान संशोधनको मुद्दा के हुन्छ ?
मधेशी जनताको अधिकार सुनिश्चित भइसकेको छैन । संविधानमा भएका अधुरा कुरालाई संशोधन गरेर पूरा गराउनुपर्छ । मधेश हाम्रो आधार हो । मधेशको माग पूरा नभएसँम्म नेपालमा एकता हुन सक्दैन ।

वाम गठबन्धनको दुई तिहाई आएको छ । संविधान संशोधन कसरी हुन्छ ?
वाम गठबन्धनमा माओवदी पनि भएकाले माओवादीले एमालेलाई संविधान संशोधनको धरातलमा ल्याउँछ । एमालेले पनि हठ छोड्नुपर्छ । त्यसपछि बल्ल ति दुई दलबिच एकता सम्भव छ ।

संविधान संशोधनका लागि केपी ओली तयार होलान् ?
मुलुकलाई द्धन्द्धमा लैजाने हो कि समाधान गर्ने हो ? हाम्रो माग पूरा भएन भने आन्दोलनमा जान्छौँ । अब हिमाल, पहाड र तराई सबै ठाउँका जनताको अधिकार सुनिश्चित हुनुपर्छ । अन्यथा देश विकास हुन सक्दैन । सबै ठाउँका जनता आन्दोलनमा जान्छन् । मधेशीलाई अधिकारबाट बञ्चित बनाएर राख्न मिल्छ ? संविधान संशोधन भएन भने तेस्रो आन्दोलन सुरु हुन्छ ।

संविधान संशोधन गर्न अबको सरकार तयार भएन भने के गर्नुहुन्छ ?
मधेशी जनतालाई गोली खुवाउने कि अधिकार दिने सरकारको हातमा छ । हामी त सहमतिको आधारमा संविधान संशोधन होस् भन्ने चाहन्छौँ । भएन भने हामी सडकदेखि सदनसम्म लड्छौँ । हामीलाई सडकमा उत्रिन बाध्य नपारियोस् । अहिले समस्याको जरो कांग्रेस बनेर देखापरेको छ । कांग्रेसलाई मधेशी जनताले पत्याएनन् । अब एमालेले समस्या समाधन गर्ने कि द्धन्द्धमा धकेल्ने भन्ने सोच्नुपर्छ ।

केपी शर्मा ओलीले त संविधान संशोधनको प्रस्ताव अगाडि बढ्दैन भन्नुभएको छ नि ?
बढ्दैन भने हामी आन्दोलनमा जान्छौँ । एमालेले त घोषणापत्रमा लेखेकोभन्दा उल्टो काम गर्छ । एमालेले कतिपल्ट जनतालाई झुक्याउने ?

जनमत त वाम गठबन्धनतिर देखिएको छ नि ?
वाम गठबन्धनले जनताको माग पूरा गर्नुपर्छ । हामी सहयोग गछौँ । तर सरकारले जनताको हितमा काम गरेन भने हामी सडकमा आउँछौँ । फेरी हामीलाई बोर्डरमा लैजाने कि माग पूरा गर्ने भन्ने सरकारमा निर्भर हुन्छ । हामी त हक अधिकार प्राप्त नभएसम्म आन्दोलन गछौँ । त्यसैले विगतमा भएका सहमतिका आधारमा माग पूरा गर्नुपर्छ ।

तपाईहरु फेरी आन्दोलनमा जानुहुन्छ ?
हाम्रो माग पूरा भएन भने त आन्दोलनमा जान्छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot