Logo

नयाँ सरकार गठनपछि मात्रै राष्ट्रियसभा गठन : ओली



२ पुष, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको अपव्याख्या गरेर समस्या सृजना गर्न खोजिएको आरोप लगाएका छन् । आफूले अविश्वासको प्रस्तावको सामना गर्दा संवैधानिक कठिनताकाबिच पनि सहजै राजिनामा दिएको स्मरण गराउँदै ओलीले देउवा सत्ता छोड्न नमानेको आरोप लगाए ।

चुनावपछि वाग गठबन्धन (एमाले–माओवादी) ले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले काम चलाउ प्रधानमन्त्री तथा काम चलाउ सरकारले संवैधानिक नियुक्तिहरु गरेकोप्रति पनि आपत्ति जनाए ।

सरकार वैधानिक भए पनि कामचाँही अवैधानिक गर्न नहुने ओलीको तर्क छ । राष्ट्रपतिकोमा राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश अड्किएको भन्नेहरुलाई जवाफ दिदै ओलीले सरकारले जस्तो अध्यादेश पठायो त्यस्तै पारित गर्न राष्टपति बाध्य नहुने बताए । जनमत बटुल्न सफल भए पनि आफूहरुलाई वेवास्ता गरी अध्यादेश बनाइएको भन्दै ओलीले आपत्ति जनाए ।

“खेलको बिचमा नियम बनाउने ? पहिल्यै बनाउनुपर्दैन ? खेलका नियम पहिल्यै निर्धारण हुन्छ । खेल सुरु भएपछि नियम परिवर्तन हुँदैन ।” ओलीले भने ।
“जे पायो त्यही लगेर दिने अनि राष्ट्रपतिले पारित गर्नुपर्ने ?” ओलीले प्रश्न गरे । राष्ट्रियसभा गठनका सवालमा राष्ट्रपतिले पनि संविधानको ख्याल गर्नुपर्ने भन्दै ओलील सचेत गराए ।

दुरगामी असर पार्ने कुनै पनि काम नगर्न ओलीले देउवालाई चेतावनी दिए ।
सरकार गठनपछि मात्रै राष्ट्रियसभा गठन गर्नुपर्ने ओलीको भनाई छ । अन्तराष्ट्रिय अभ्यासको उदाहरण दिदै ओलीले राष्ट्रियसभा गठनअघि सरकार गठन गर्न संवैधानिक जटिलतासमेत नभएको बताए ।

ओलीले सबै मतदातालाई धन्यवाद दिदै साझा घोषणापत्रलाई अनुमोदन गरेको उल्लेख गरे । निर्वाचनका परिणामले दुई दललाई एकहुन उत्साहित बनाएको ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्