Logo

‘हेलो सरकार’मा ८० प्रतिशत गुनासो सम्बोधन



काठमाडौँ, ६ पुस (रासस) : ‘हेलो सरकार’ले छ वर्षमा ८०.७७ प्रतिशत गुनासो सम्बोधन गरेको छ । हेलो सरकारमा आएका गुनासोमध्ये सर्वसाधारणका ५९ हजार १८६ वटा सम्बोधन गरिएको हेलो सरकार कार्यालयका शाखा अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिनुभयो ।

हेलो सरकारमा छ वर्षमा ६७ हजार ६१३ गुनासो आएका थिए । विसं २०६८ कात्तिक १७ गतेदेखि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले सर्वसधारणका गुनासो सम्बोधन गर्न हेलो सरकार सञ्चालन गर्नुभएको थियो ।

अहिले हेलो सरकारमा आठ हजार ४२७ गुनासो सम्बोधन हुन बाँकी छन् । तीमध्ये अहिले दुई हजार ५८६ उजुरीको सम्बोधन हुन लाग्दैछ । आएका गुनासोलाई हेलो सरकारले उच्च प्राथमिकता, प्राथमिकता र साधारण गरी तीन किसिमले वर्गीकरण गरी सम्बोधन गर्दै आएको छ ।

उच्च प्राथमिकतामा छ हजार ९४४, प्राथमिकतामा ३९ हजार ७९५ र साधारणमा एक हजार ६५८ उजुरी आएको उहाँले बताउनुभयो ।

हेलो सरकारमा धेरैजसो विकासनिर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी, प्रशासनतर्फका गुनासो आउने गरेका छन् । सर्वसाधारणले ११११ नं डायल गरी आफ्नो गुनासो टिपाउने र कर्मचारीले सम्बन्धित निकायमा जानकारी गराएर गुनासो सम्बोधन हुने गर्छ । हेलो सरकारले फोनसहित फेसबुक, ट्वीटर, इमेल, फ्याक्सबाट गुनासो लिने गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot