Logo

पार्टी एकताबारे छलफल गर्न एमाले स्थायी कमिटीको बैठक बस्दै



काठमाडौँ, ६ पुस (रासस) : निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ ।

सचिव ज्ञवालीले केन्द्रसँगको एकता सकेसम्म छिट्टै गर्ने तयारीमा आफूहरु रहेको बताउनुभयो । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि शुक्रबार नै बस्ने योजना छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका ती दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताबारे सहमति गरिएको निर्णय सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस्