Logo

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह



काठमाडौँ, ८ पुस  : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २९ ले आज डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताउनुभयो ।

नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गर्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताउनुभयो । निर्वाचनमा नतिजा कमजोर आएको भन्दै काँग्रेसमा सुधारको खाँचो रहेको उहाँको भनाइ थियो ।

नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot