Logo

राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने : दाहाल



भैरहवा, पुस ८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै दल मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्ने भन्दै उनले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताए ।

शनिबार भैरहवामा नेपाल जेसिसको ४४औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डोर्‍याउन सबै दलबीच सहमति, सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मुलुक विकसित भए विश्वले हेर्ने दृष्टिकोणमासमेत परिवर्तन हुने जिकिर गरे ।

तीन तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी सुरु भएको बताए ।

देशमा स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रव्युहमा फस्ने उनको भनाइ थियो । अध्यक्ष दाहालले राष्ट्र निर्माण र मुलुकलाई आर्थिकरुपमा सक्षम र सवल बनाउनका लागि युवाहरुको भूमिका थप बढेको पनि बताए । उनले देशलाई समृद्ध बनाउन युवाहरुलाई अहं भूमिका निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहरा, खानेपानी राज्यमन्त्री अब्दुल रज्जाक, महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठ, नेपाल जेसिसका अध्यक्ष प्रकाश अधिकारीलगायतले बोलेका थिए ।

शनिबारदेखि सुरु भएको जेसिसको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्