Logo

राजपा र फोरमलाई सरकारमा ल्याउन ओलीको भेटवार्ता, संविधान संशोधनको आधार दिए सरकारमा जाने महतो–यादवको संकेत



काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग एकैचोटी छलफल अघि बढाएका छन् ।

वाम गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रसँग सरकार गठन र पार्टी एकताको सघन छलफल चलिरहेको बेला ओलीले यी दुई मधेशवादी दलका अध्यक्षद्धय उपेन्द्र यादव र राजेन्द्र महतोसँग केही दिनयता लगातार तर छुट्टाछुट्टै भेटवार्तालाई तिव्रता दिएका छन् । उनले माओवादीलाई पार्टीको अध्यक्ष दिनेबारे आफ्नै दलका नेताहरुले असन्तुष्टि जनाएपछि सरकार बनाउने विकल्पमा राजपा र फोरमलाई विश्वासमा लिन खोजेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले माओवादीलाई धोका दिन लागेको संकेत गर्दै एमाले अध्यक्ष ओलीको साँठगाँठ यतिवेला उपेन्द्र यादवसँग ह्वात्तै बढेको आशय व्यक्त गरेको दुई दिन नबित्दै ओलीले यसरी सरकार गठनमा मधेशवदी दलको साथ र सहयोग लिन खोजेको पुष्टि भएको हो ।

फोरम नेपालका अध्यक्ष यादवले केही दिन पहिल्यै नै पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमालेले सरकार गठनमा आफ्नो सहयोग माँगेको स्पष्ट पारेका थिए । उनले भनेका थिए,“हो, एमाले अध्यक्ष ओलीजीले मसँग फोनवार्तामा संक्षिप्त कुराकानी गर्नुभएको छ, तर मैले संविधान संशोधनको आधार दिए हामी यसबारेमा सोच्न सक्छौं भनेको छु, उहाँहरुले संशोधनबारे पार्टीको धारणा सार्वजनिक गर्नुपर्छ।”

यादवमात्रै नभएर राजपा नेपालका अध्यक्ष मण्डलका संदस्य महतोले पनि यसबारेमा स्पष्ट पारेका छन् । उनले पनि पत्रकार धमलासँगको कुराकानीमा आफूहरुले भनेजस्तो संविधान संशोधनबारे एमालेले आधार प्रस्तुत गरेर आफूहरुलाई सरकारमा सहभागी हुन कुनै आपत्ति नरहेको टिप्पणी गरेका थिए ।

तर एमालेले पुरापुर माओवादीलाई कर्नरमा पुर्याउनेगरि राजपा र फोरमसँग सहकार्यको प्रयास भने गरेको होईन । स्रोतका अनुसार यदि कथमकदापि माओवादीसँग एकता हुन सक्ने अवस्था नरहे र माओवादीले प्रधानमन्त्रीमा पनि आलोपालोको डिमाण्ड गरिरहे विकल्पमा फोरम र राजपालाई उपयोग गर्ने रणनीति बुनेको हो ।

हुन त एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले नै पार्टी एकताबाट अब ब्याक हुन सक्ने अवस्था नरहेको भन्दै एकता प्रक्रियाबाट जो बाहिरिन खोज्छ उसलाई नै जनताले नँग्याईदिने भनेर सार्वजनिक टिप्पणी गर्दै आएका छन् । तर सरकार गठन र पार्टी एकताबारे कसरी जाने भन्नेबारे एकता संयोजन समितिको बैठक भने अझै बस्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्