Logo

ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड



काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादी केन्द्रवीचको एकता प्रक्रिया अब चाँडै टुँग्गिने विश्वास दिलाएका छन् ।

उनले पछिल्ला दिनहरुमा मिडियामा खासगरी कतिपय समाचारहरु बडो भ्रामक भइदिने र तिनले जनमानसमा निकै नै नकारात्मक धारणा बनाइदिने गरेको गुनासो पोख्दै भने,‘यस बीचमा पार्टी एकता वा वाम गठबन्धन के हुन्छ भन्ने बारेमा मिडियामा कहिँ न कहिँ कपोलकल्पित खालका र भ्रामक समाचारहरु आएका छन्’ उनले अघि थपे,‘बुद्धिजीवी साथीहरुले त्यस्ता समाचारहरुको आधिकारिकता पुष्टि नगरिकन तिनलाई विश्वास नगरिदिन म अनुरोध गर्न चाहन्छु ।’

उनले आफूहरुवीचको पार्टी एकताको प्रक्रिया गम्भीरताका साथ अगाडि बढेको समेत जानकारी दिए । उनले थपे,‘कमरेड केपी ओली र म बीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् । नेपाली जनताले, बुद्धिजीवीले र आम कार्यकर्ताले समेत अनुमोदन गरिसकेको र हामीले एउटा निर्णायक पहल गरिसकेको कुराबाट पछि हट्ने कल्पना लिडरसिपले कहिँ कतै गरेको छैन । म तपाईंहरुलाई त्यो विश्वास दिलाउन चाहन्छु ।’

आफूले यसअघि नै आफूहरुले पुल भत्काएर अगाडि बढेको कुरा बताएको स्मरण गराउँदै अब फेरि फर्किने ठाउँ राखेर अगाडि बढेकै होइन भन्ने स्पष्ट पारे । उनले भने,‘एमालेका नेताहरुले पनि र माओवादीका नेताहरुले पनि । मैले र कमरेड केपी ओलीले जानीबुझीकनै पुल बाँकी राखियो भने फर्किने खतरा रहन्छ पूरै भत्काइदिउँ भनेर पुल भत्काएर एकैचोटी हामफालेको हो ।’

उनले एकताबाट अव पछाडि फर्किने कुनै सम्भावना नै नहरहेको बताए । ‘हुनसक्छ, मिलाउने कुरामा केहि जटिलता हुन पनि सक्छ’ अध्यक्ष प्रचण्डले भने,‘तर, ती जटिलताका विभिन्न विकल्प हामीले सोचिसकेका छौं । ती विभिन्न विकल्प मध्ये कुनै पनि विकल्प पार्टी एकता र वाम गठबन्धनलाई कमजोर पार्ने होइन अगाडि जाने मात्रै विकल्प छन्, पछि हट्ने विकल्प छैनन् । यो कुरा प्रष्टसँग राख्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्