Logo

ओलीको लगातारको फोनपछि प्रचण्ड काठमाडौं आउँदै, आजै छलफल हुने



काठमाडौं, ११ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकतावीच आज छलफल हुँदैछ । वाम गठबन्धनका शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आज टेलिफोनवार्ता भएको छ ।

दुवै नेताहरुले तत्काल सरकार गठन र पार्टी एकतालाई टुँगोमा पुर्याउनेगरि आज छलफल गर्नुपर्नेमा जोड दिएका थिए । एमाले नेता सुवासचन्द्र नेम्बाङका अनुसार तत्काल पार्टी एकतालाई पनि निश्कर्षमा पुर्याउने भनेर नै आज एकता संयोजन समितिको बैठक बस्दैछ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘पार्टी एकता हुँदैन भनेर अहिले बजारमा विभिन्न हल्ला फैलाईएको छ, यो गलत हो, आजबाट एकता संयोजनक समितिको छलफल हुँदैछ, माओवादी केन्द्रका अध्यक्ष र हाम्रो अध्यक्षवीच आजमात्रै पनि टेलिफोनवार्ता भएको छ।’

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड ५ दिन लामो चितवन बसाईंपश्चात आज काठमाडौं फर्कने कार्यक्रम छ । प्रचण्ड ३ बजे काठमाडौं आउने र त्यसपछि पार्टी एकता, सरकार निर्माण र राष्ट्रिय सभाको अध्यादेश लगायत विषयमा एमालेसँग छलफल हुने बुझिएको छ ।

एमाले–माओवादी केन्द्रका दुबै शीर्ष नेताहरु एकताप्रति प्रतिबद्व भएपनि प्रचण्डको लामो चितवन बसाईंका कारण नकरात्मक आशंका जन्मिएकाले एकता संयोजन समितिको बैठक नबसेपनि दुई नेताले त्यो आशंका चिर्न आजै भेट गर्ने सम्भावना पनि ज्यादा छ ।

यता माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकताबाट अब कोही पनि ब्याक हुन सक्ने ठाउँ नभएकोले यसलाई निश्कर्षमा पुर्याएरै छोड्ने विश्वास दिलाईन् ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भनिन्,‘हामी एकताप्रति प्रतिबद्ध छौं, सम्भवतः आज छलफल हुन्छ, एकता संयोजन समितिको बैठकले सबै कुरा टुँगो लगाउँछ।’ उनका अनुसार गठबन्धनका दुई शीर्ष नेताहरुवीच आज सरकार गठनमा समेत विशेष कुराकानी हुने भएको ।



प्रतिक्रिया दिनुहोस्