Logo

ओली भेट्नुपुर्व प्रचण्ड पार्टीभित्र आन्तरिक रणनीति बुन्दै



काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुपुर्व पार्टीभित्रै आन्तरिक छलफलमा जुटेका छन् ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार दाहालले पार्टी एकता र सरकार गठनमा कसरी अघि बढ्ने भन्नेबारे खाका तयार पार्नको लागि पार्टी हेडक्वार्टरका केही शीर्ष नेताहरुलाई डाकेका हुन् ।

ओलीलाई भेट्नुअघि प्रचण्डले आफ्नो पार्टीभित्र सरकार गठन र पार्टी एकताबारे ठोस निर्णय लिने र सोही रुपमा ओलीसामू प्रस्तुत हुने तयारी थालेका छन् । त्यसको लागि रणनीति बुन्न उनी यतिवेला आन्तरिक छलफलमा व्यस्त छन् ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच हिजा मंगलबार नै भेटवार्ताको तयारी भएको थियो । हिजो ३ बजे काठमाडौं आइपुगेर वार्तामा बस्ने योजना बनाएका प्रचण्डको चितवनबाट काठमाडौंका लागि उडान ढिला भएपछि ४ बजेमात्र भरतपुरबाट काठमाडौं आइपुगेका थिए ।

मंगलबार प्रचण्ड सिधै विमानस्थलबाट खुमलटारस्थित आफ्नो नयाँ निवास पुगेका थिए भने एमाले अध्यक्ष ओली चाहिँ काठमाडौं आइपुगेका प्रचण्डसँग भेटका लागि आफ्नै निवासमा प्रतीक्षारत थिए भन्ने सम्मका समाचार आएका थिए । तर अन्त्यमा दुई नेताहरुवीच भेटवार्ता भएन् ।

पार्टी एकता सम्बन्धी विभिन्न विषयमा अड्कलबाजी बढ्न थालेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउन दुवै नेतालाई दवाव बढेको छ । माओवादी पार्टी भित्र एकता प्रक्रियाले नयाँ तरंग पैदा गरेको छ । आजको भेटघाटमा पार्टी एकताको मोडालिटी, एकता प्रक्रिया, नयाँ सरकार गठन र राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्