Logo

त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलाको उपाधि विजेता खेलाडीहरुलाई जनही एक/एक लाख दिने सरकारको निर्णय



काठमाडौं, १४ पुस । खेलकुद मन्त्रालयले त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको खेलकुद मन्त्री राजन कुमार केसीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

दुई दिन अघि रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ अनुशन्धान तथा विकास केन्द्रले खेलाडीहरुलाई सम्मान गर्न आयोजना गरेको एक कार्यक्रममा उपस्थित् रहेका मन्त्री केसीसँग पत्रकार धमलाले खेलाडीहरुलाई जनही एक लाखले सम्मान गर्न आग्रह गरेको पर्सिपल्ट मन्त्री केसीले यस्तो निर्णय गरेका हुन् ।

निर्णय गरेपछि मन्त्री केसीले पत्रकार धमलालाई फोन गरेर नै खुशीको खबर भन्दै सुनाए । उनले धमलासँग भनेको कुरा उद्धृत गर्दै भने,‘ऋषिजी तपाईको कारणले गर्दा मैले खेलाडीहरुलाई जनही एक एक लाख दिने निर्णय गरेको छु, अब समाचार बनाउनुहोस्।’

यता सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्विलचेयर क्रिकेट संघले बताएको हो । सरकारको निर्णयअनुसार उपाधि विजेता टोलीका १४ जना खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने छन्। नेपाली टोलीले पुस १ गते भारत र बंगलादेशको टोलीसमेत सम्मिलित त्रिदेशीय शृङ्खलाको उपाधि जितेको थियो।

नेपाल ह्विलचेयर क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगिता ह्विलचेयर क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हो । यसअघि दुईभन्दा बढी देश सम्मिलित प्रतियोगिता भएको थिएन । नेपाली टोलीका कप्तान हिमाल अर्यालले सरकारको निर्णयबाट आफूहरु गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्