Logo

अबको १५ दिनभित्र नयाँ सरकार गठन हुन्छ : राम कार्की



काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता कार्कीले अबको १५ दिनभित्रै नयाँ सरकार गठन हुने बताएका हुन् । उनले भने,‘हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौं, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुई मत छैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले सरकार निर्माण गर्दा मुलुकमा यो माईलस्टोन सावित होस् भन्ने आफूहरुको चाहना रहेकोले सोही अनुसार अहिले गृहकार्य भैरहेको विश्वास दिलाए । उनले भने,‘विगतमा भएका कमीकमजोरीहरु सच्याउँदै हामी अब समाजवादको आधारलाई ध्यानमा राखेर काम गर्न केन्द्रित हुन्छौं, पार्टी एकताको मापदण्ड पनि समाजवादलाई परिभाषित गर्दै अघि बढने नै हो, जनतालाई शोषणबाट मुक्त गर्नु नै समाजवाद हो।’

उनले अब नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको जिकिर गरे । उनले भने,‘माओवादी र एमाले भन्ने कुरा अब रहेन, औपचारिक रुपमै जनताले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको एकता अभियानलाई छाप लगाईसक्नुभएको छ।’ कार्कीले यतिवेला पदीय बाँडफाँडभन्दा पनि कसरी समाजवादको लक्ष्यलाई हाँसिल गर्न सकिन्छ भन्ने नै आफूहरुको मुख्य ध्यान रहेको सुनाए ।

चुनावमा होमिँदै गर्दा नै आफूहरुले अबको प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने भनेर नै प्राजेक्शन गरिसकेकोले यसमा कुनै द्धिविधा नभएको उनको भनाई थियो । यद्धपी उनले ओलीले आफू बन्न नचाहँदा उहाँले चाहेको व्यक्ति नै प्रधानमन्त्री बन्न सक्ने विश्वास दिलाए ।

उनले भने,‘केपी ओलीजी प्रधानमन्त्री बन्दा प्रचण्डलाई पनि क्रुसियल वा पिभोटोल रोल दिईने समझदारी छ, त्यसै अनुरुप अघि बढ्छौं।’ कार्कीले आफूहरुवीच पद विशेषमा कुनै झगडा नहुने समेत जनाए । त्यस्तै उनले ओली र प्रचण्ड दुवै शीर्ष नेताहरु मुलुकको प्रधानमन्त्री र पार्टी अध्यक्ष भैसकेको व्यक्तित्व भएकोले उहाँहरु साधरण सदस्य भएर बसेपनि पार्टी नेतृत्वको अथोरेटी उहाँहरुमै हुने पनि स्पष्ट पारे ।

उनले आफूहरुको अर्को मुख्य ध्यान भनेको नेपाली कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्ने नै रहेको जनाए ।



प्रतिक्रिया दिनुहोस्