Logo

प्रधानमन्त्री देउवालाई तपाईहरुले गर्नुपर्ने सबै काम गर्नुस् भन्यौँ : नारायणकाजी श्रेष्ठ



प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनबिच के सहमति भयो ?
सहमतिभन्दा पनि तीनवटा विषयमा हामीले प्रधानमन्त्रीसँग छलफल गरेका हौँ । एउटा कुरा राष्ट्रियसभाको चुनाव छिटोभन्दा छिटो हुनपर्यो भन्यौँ । प्रधानमन्त्रीले निर्वाचन आयोगसँग सल्लाह गरेर छिटै मिति तोक्छु भन्नुभयो । दोस्रो कुरा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा प्रधानमन्त्रीले सहमति खोज्नुभयो । सरकारले गर्ने काम छिटो छिटो गरेर सत्ता हस्तान्तरणको प्रक्रिया जानुपर्छ भनेर हामीले भन्यौँ । तेस्रो कुरा काम चलाउ हैसियतको सरकार भएकाले महत्वपूर्ण निर्णयहरु नगरोस् भनेर सचेत गरायौँ ।

प्रधानमन्त्री देउवाले कस्तो प्रतिक्रिया दिनुभयो ?
राष्टियसभाको निर्वाचनको मिति छिटै तोक्छु भन्नुभएको छ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा हामीले विस्तृतमा छलफल गर्नै चाहेनौँ । दीर्घकालिन प्रभाव पार्ने र महत्वपूर्ण निर्णयहरु गर्दिन भन्नुभएको छ ।

तर पनि प्रधानमन्त्रीले नियुक्तिहरु त गरिरहनुभएको छ नि ?
त्यसकारण त हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौँ नि । नगरेको भए राम्रै हुन्थ्यो । कामचलाउन भइसकेको सकारले अलोकतान्त्रिक काम गर्न सुहाउँदैन । अर्कै दललाई जनादेश प्राप्त भइसकेको अवस्थामा जाँदै गरेको सरकारले त्यस्ता काम गर्न सुहाउँदैन । बलजफस्ती लोकतन्त्रविरोधी काम गर्न हुँदैन । यसले जनताको अगाडि उहाँहरुलाई बदनाम गराउँछ ।

प्रदेश प्रमुखको नियुक्तिका लागि तपाईहरुले ढोका खोलिदिनुभएको हो ?
अर्को सरकार बनाउनका लागि आवश्यक संवैधानिक र कानुनी प्रक्रिया छिटै पूरा गरोस् भन्ने हाम्रो भनाई हो । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी कहाँ तोक्ने भन्ने विषयमा हामी प्रवेश गर्नै चाहेनाँै । सरकारकै प्रवृत्तिले हामीलाई यो ठाउँमा पु¥याएको हो ।

प्रदेश प्रमुख तोक्ने विषय महत्वपूर्ण हो । तर किन तपाईहरुले छलफल गर्न चाहनुभएन ?
चुनावबाट जनताले वाम गठबन्धनलाई जनादेश दिइसकेका छन् । यो अवस्थामा सरकारले नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपथ्र्यो । तर देउवा नेतृत्वको सरकार अनेक बहानामा आलटाल गरिरहेको छ । त्यसैले तपाईहरुले गर्नुपर्ने सबै काम गर्नुस् भन्यौँ । अस्थायी राजधानी बनाउने विषयमा भएको अध्ययनको प्रतिवेदनका बारेमा पनि हामीलाई केही जानकारी नभएकाले केही भन्ने अवस्था छैन । तर यो सरकारले यति मात्रै गरोस् कि जुन कामले अर्को सरकार बन्नका लागि बाटो खुलाउँछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot