Logo

सिरोहिया र सुमार्गीबिचको लडाई अदालतमा, आर्थिक लेनदेनको विषयले उग्र रुप लिँदै



२३ पुस, काठमाण्डौ । संचार उद्यमी कैलाश सिरोहिया र व्यवसायी अजय सुमार्गीबीचको लेनदेन विवाद अदालतसम्म पुगेको छ । सुमार्गीले सिरोहियाविरुद्ध मुद्धा दायर गरेका हुन् ।

कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइपाउनुपर्ने माग दावीसहित काठमाडौं जिल्ला अदालतमा व्यापारी अजयराज सुमार्गी पराजुलीले गाली बेइज्जति मुद्दा दायर गरेका हुन् ।

सुमार्गीका कानुनी सल्लाहकार मोहन पोखरेलका अनुसार २५ करोड माग दावीसहित आइतबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।

यसअघि कैलाशले सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैयाँ नेपाल ल्याएको समाचार आफ्ना संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरेका थिए । त्यसलगत्तै सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए ।

आर्थिक लेनदेनको मामिलामा सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेपछि यो मुद्धाले ठुलै चर्चा पाएको थियो ।

उक्त निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले दाबी गरेका थिए ।

२०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्