Logo

पार्टीको बैठकमा प्रचण्डको बिफ्रिङ् : एकतापछिको अध्यक्ष म नै हो



काठमाडौं, २४ पुस । एमालेसँग एकता सम्पन्न गर्नेबारे नेकपा माओवादी केन्द्रको आन्तरिक बैठक बसेको छ । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्र दुवै दल आन्तरिक छलफलमा जुटेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेताहरूसँग आन्तरिक छलफल गरेका छन्। आजको छलफलमा प्रचण्डले हिजो ओलीसँग भएको भेटवार्ताबारे बिफ्रिङ् गरेका थिए । उनले एकताको लागि ओलीले आफूलाई अध्यक्ष स्विकार गर्ने हिजोको बैठकमा आन्तरिक सहमति भएको जानकारी गराएका थिए ।

दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ ।

पार्टी एकतामा ढिलाइ र शंका व्यक्त भइरहेका बेला आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा उनीहरूबीच एकतापछिको कार्य्दिशा र संगठन संरचना निर्माणका लागि कार्यदलमार्फत् अघि बढ्ने सहमति भएको छ।

दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ बालकोटमा भएको छलफलमा कार्यदलको गृहकार्यका आधारमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा र्पुयाउने गरी एजेन्डा तय भएको छ । भेटमा सोमबार दुवै पार्टीका शीर्ष नेताहरूको आन्तरिक छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समिति बैठक बसेर कार्यदल बनाई प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

नयाँ सरकार गठनअगाडि नै सम्भव भएसम्म पार्टी एकता गर्ने रणनीति बनाएका एमाले–माओवादी अध्यक्षले पहिले छलफल गरी एजेन्डा तय गर्ने र त्यसपछि लगत्तै संयोजन समितिको बैठक बस्ने बताउँदै आएका थिए।

मंगलबार बस्ने एकता संयोजन समितिले अब वैचारिक र राजनीतिक कार्य्दिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल तथा संगठनात्मक संरचना मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल गठन गर्ने भएको छ।

संयोजन समितिमा ओली–दाहालका अतिरिक्त एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र जनार्दन शर्मा सदस्य छन्।



प्रतिक्रिया दिनुहोस्