Logo

दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने



विराटनगर, २४ पुस (रासस) : नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिनुभयो । “संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रियसभा अध्यादेश, राष्ट्रियसभा निर्वाचन, समावेशी भावना आदि संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाइ भएको प्रष्ट पार्नुभयो । मुलुकको संघीय संरचनालाई सफल बनाउन सबै दल एक ढिक्का भएर लाग्नुपर्ने बताउँदै उहाँले संविधानको मर्मअनुसार सबै वर्ग र समुदायको भावना समेटी यसको कार्यान्वयन गर्नु दलहरुको जिम्मेवारी रहेकामा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्