Logo

सरकारले चाँडै नै प्रदेश प्रमुखको नियुक्ति गर्छ : मन्त्री बस्नेत



सूचना तथा सञ्चारमन्त्रीद्वारा पुरस्कार वितरण
विराटनगर, २५ पुस (रासस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई एक समारोहमा सम्मान गर्नुभयो ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार तथा सम्मान समर्पण कार्यक्रममा शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेल, उद्घोष दैनिकका पत्रकार विक्रम निरौला र उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मालाई सम्मान गरिएको थियो । सो अवसरमा पुरस्कृत पत्रकारलाई सम्मानपत्रका साथै जनही रु १५ हजार प्रदान गरिएको थियो ।

त्यस्तै, सोही अवसरमा मन्त्री बस्नेतले ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’बाट मकालु टेलिभिजनका पत्रकार अभयकुमार राई र पत्रकार भारती उपाध्यायलाई सम्मान गर्नुभयो । पुरस्कृत हुनेलाई सम्मानपत्रसहित जनही रु १५ हजार प्रदान गरिएको थियो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले शैलजा आचार्य प्रष्ट वक्ता, स्वच्छ छविका साथै प्रजातन्त्रप्रति समर्पित हुनुहुन्थ्यो भन्नुभयो । शैलजा आचार्यजस्ता व्यक्तित्वको नेपाली काँग्रेसमा अभाव भएको प्रसंग उल्लेख गर्दै उहाँले नेतासमक्ष पार्टीका कमीकमजोरीबारे बोल्न नसक्ने र कूटनीतिक रुपले काम गर्न नसक्ने भएका कारण नेपाली काँग्रेस धरापमा परेको बताउनुभयो ।

उहाँले सरकारले चाँडै नै प्रदेश प्रमुखको नियुक्ति गर्ने र अस्थायी प्रादेशिक राजधानी तोक्ने विषयमा दलहरुबीच सहमति गर्न प्रधानमन्त्रीले सहमति गरी निर्णय गर्न खोजेको स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले विराटनगरबाट गोरखापत्र दैनिकको दोस्रो संस्करण वैशाखभित्रै प्रकाशन गर्ने तयारी भइरहेको र यस विषयमा आजै विराटनगरमा गोरखापत्र संस्थानको सञ्चालक समितिको बैठक बस्न लागेको जानकारी दिनुभयो ।

लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउँदै उहाँले काँग्रेसले अभिभावकत्वको भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि त्यस्तै भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सोही अवसरमा रु १५ हजार राशिबाट पुरस्कृत हुनुभएका न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले विपन्न अवस्थामा रहनुभएका नेत्रहीन निकेश थापामगर, कृष्ण कोइराला ‘चारघरे’ र रमेश भट्टराई ‘पाखे’ लाई रु पाँच–पाँच हजारका दरले रकम प्रदान गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्