Logo

ओली–प्रचण्डवीच वान-वान-वार्ता, फागुणभित्रै एकता टुँगो लगाउने



काठमाडौं, २६ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि चार बुँदे मापदण्ड तयार पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज वान टु वान छलफल गरी चार बुँदे मापदण्ड तयार पारेका हुन् ।

ओली निवास बालकोटमा बुधबार विहान भएको छलफलमा प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्ने, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिने, पार्टी एकताको स्पिरिटलाई कायम राख्ने र दुवै पक्षको सन्तुलन कायम गरी सिट निर्धारण गर्ने मापदण्ड तयार पारिएको हो ।

त्यस्तै सकेसम्म सरकार गठनसँगै पार्टी एकता पनि टुँगोमा पुर्याउने दुई नेताहरुवीच समझदारी बनेको छ । ओली उपचारको लागि आज बैंकक जाने भएपनि दुवै दलका नेताहरुसँग प्रचण्डले समन्वय गर्नेपनि सहमति बनेको छ । स्रोतको दाबी छ,‘सकेसम्म फागुणभित्रै एकता प्रक्रियालाई टुँगोमा पुर्याउनेगरि दुई अध्यक्षहरुवीच आज कुराकानी भएको छ।’

छलफलपछि दुवै अध्यक्षले प्रदेश सरकार र राष्ट्रियसभा गठनका लागि गृहकार्य गर्न गठित कार्यदललाई निर्देशन दिएका छन् । उनीहरुले कार्यदललाई चाँडो काम सक्ने निर्देशन समेत दिएको नेताहरुले बताएका छन् ।

दुई अध्यक्षबीच मुख्य मन्त्री चयन र प्रदेशसभाको व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको थियो । एमाले र माओवादी एकता संयोजन समितिको हिजो बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्