Logo

०७५ साललाई सरसफाई वर्ष घोषणा गर्नुपर्ने अभियन्ता शर्माको माँग



स्वच्छ नेपाल बनाउन सबैले हातेमालो गर्नुपर्छ : धमला
काठमाडौं, २८ पुस । सरसफाई अभियन्ता खेम शर्माले वि.सं. ०७५ साललाई सरसफाई वर्षको रुपमा घोषणा गर्न माँग गरेका छन् । उनले नेपाललाई स्वच्छ र प्रदुषणमुक्त बनाउनको लागि पनि सरसफाई वर्ष घोषणा गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अभियन्ता शर्माले प्रदुषण नियन्त्रण गर्नको लागि गम्भिर कदमहरु चाल्नुपर्नेबारे प्रकाश समेत पारे । उनले भने,‘नेपाललाई प्रदुषणमुक्त बनाउनको लागि हामीले अब गम्भिर कदमहरु चाल्नुपर्ने हुन्छ, त्यसको लागि हामीले आगामी ०७५ साललाई सरसफाई वर्ष घोषणा गर्नुपर्छ।’

उनले अघि भने,‘सरसफाई वर्ष–०७५ ले नेपाललाई पूर्ण रुपमा खासगरी एक वर्षभित्रै स्वस्थ र प्रदुषणमुक्त बनाउँछ, यदि यो अभियानमा प्रत्येक नागरिक सर्वसाधरणदेखि सरकारी कर्मचारीले हातमा हात र काँधमा काँध जोड्नुभयो भने यो अभियानले पूर्ण रुपमा सफलता पाउँछ।’ यसको लागि उनले विभिन्न पक्षहरुसँग सरसल्लाह र आधिकारिक निकायहरुसँग छलफल भैरहेको उनले जानकारी दिए । उनले भने,‘हामीले त होटेल एशोसियसन नेपाललसँग पनि छलफल गरिरहेका छौं।’

आफू पछिल्लो समय दुई महिनामध्ये दश दिन समय नेपालमै समय दिईरहेको उल्लेख गर्दै शर्माले भने,‘म दुई महिनामा दश दिन समय नेपालमै विताईरहेको छु, यो अभियानलाई तार्किक निश्कर्षमा पुर्याउन र सफल बनाउनको लागि म दिनरात गम्भिर भएर होमवर्क गरिरहेको छु, यसको लागि मलाई सबैको साथ र सहयोग आवश्यक छ।’ शर्मा विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

शर्माले अघि भने,‘हामीसँग एउटा यस्तो सक्षम र सवल टिम छ, जसले नेपालका विभिन्न सरसफाई कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ, हामी आगामी दिनमा समेत अझै सशक्त भएर लागिपर्छौ, सरसफाईको क्षेत्रमा हामी निरन्तर लागिरहन्छौं।’

एक महिनाभित्रै आफूहरुले नेपालको एकमात्रै अन्र्तराष्ट्रिय विमानस्थललाई स्वच्छ बनाएर देखाएको उदाहरण पेश गर्दै अभियन्ता शर्माले भने,‘हामीले एक महिनाभित्रै एयरपोर्ट सफा गरेर देखायौं, त्यस्तै नेपाल टुरिज्म बोर्डलाई पनि दश दिनभित्रै सफा गरेर देखायौं।’ त्यतिमात्रै नभएर उनले पशुपतिनाथ मन्दिर परिसर पनि सफा गरिसकेको सुनाए ।

शर्माले प्रत्येक नागरिक विद्यालय पढ्ने विद्यार्थीदेखि राजनीतिक दलका नेताहरुसम्मले आफ्नो वरपरको क्षेत्रलाई सफा बनाउनुपर्ने जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हामीसँग र हाम्रो अभियानमा जोडिन आउनुहोस्, सबै मिल्यौं भने नेपाललाई स्वच्छ बनाउन कुनै गाह«ो छैन, हामी संकल्प गरौं, आजैबाट सुरु गरौं, एक वर्षभित्रै सफा बनाउन सकिन्छ।’

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नेपाललाई स्वच्छ बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने र अब बन्ने सरकारले विशेष सरसफाई कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अब बन्ने सरकारले ०७५ साललाई सरसफाई वर्ष घोषणा गर्नुपर्छ, हामीले नेपाललाई स्वच्छ बनाउनको लागि हातेमालो गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot