काठमाडौँ, २९ पुस (रासस) :अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
नेप्सेको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले संस्थाले संस्थागत सुशासन तथा पारदर्शीतामा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै उहाँले क्षमता अभिवृद्धि, नवीन प्रविधिको प्रयोग, नागरिकमैत्रीलगायतका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । अर्थमन्त्री कार्कीले सेवाको विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारीले आव २०७३÷७४ मा रु १९ खर्ब बराबरको पूँजी बजार हुनु उत्साहजनक भए पनि अन्य मुलुकको तुलनामा सुधारका धेरै पक्ष रहेको बताउनुभयो । उहाँले पूँजी बजारलाई थप विस्तार गर्दै गैरआवासीय नेपालीलाई पनि यस बजारमा प्रवेश गराउनुपर्नेमा जोड दिनुभयो ।
राजश्व सचिव शिशिरकुमार ढुंगानाले बजारलाई व्यवस्थित एवं पारदर्शी बनाएर अगाडि बढाउनुपर्ने बताउँदै स–साना पूँजीलाई पनि बजारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बजारलाई प्रविधिमा आधारित बनाएकै कारण देशका ७७ जिल्लाबाट पूँजी बजारमा लगानी गर्न सकिने वातावरण बनेको बताउनुभयो ।
कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने र प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिक प्रणाली लागू गरी बजारलाई विस्तार गर्ने नवीन सोचमा नेप्से अगाडि बढेको बताउनुभयो ।