Logo

देश अब आर्थिक क्रान्तितर्फ अगाडि बढ्छ : प्रचण्ड



काठमाडौँ, २९ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको सन्तुलनको खाँचो औँल्याउँदै सरकारले निर्दिष्ट गरेको क्षेत्राधिकारभित्र रही सहकारीले कार्य गरेमा सामाजिक समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक क्रान्ति सकिएर मुलुक अब आर्थिक क्रान्तितर्फ अगाडि बढेको अहिलेको अवस्थामा जनतालाई आर्थिकरुपमा सम्पन्न गराउनका लागि सहकारी क्षेत्रको महत्व रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले मुलुकमा अर्थतन्त्रको दिगो विकासका लागि सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादितरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं र केशव पोखरेललगायतले सहकारीलाई राज्यले अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रुपमा लिएको बताउँदै यसको विकासका लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष केबी उप्रेतीले प्रगति प्रतिवेदन, नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाबाट संस्थाले आर्थिक वर्ष २०७३÷७४ को कारोबारबाट आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत मुनाफा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्