Logo

जनता मरिसकेपछि बल्ल सरकार पुग्छ : उपेन्द्र यादव



३० पुस, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले समयमा नै चासो नदेखाउँदा तराईमधेशमा शितलहरले जनता पीडित हुनुपरेको अरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले जनता मरिसकेपछि बल्ल सरकार पुग्ने गरेको आरोप लगाएका हुन् ।

प्राकृतिक तथा दैवी प्रकोपबाट जनतालाई जोगाउनका लागि सरकारले बेग्लै संयन्त्र निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म यसबारे सरकार गैर जिम्मेवार बनेको यादवको भनाई थियो । “प्रतिकूल अवस्था आउनुभन्दा अगाडि नै सतर्क भएर धनजनको क्षति हुन नदिने तथा न्युनिकरण गर्ने जस्ता संस्थाहरु राज्यले समयमा नै निर्माण गर्नुपर्ने सोच कहिल्यै आएन ।” यादवले भने ।

हरेक जाडो मौसममा हुने शीतलहरको प्रकोपबाट जनता पीडित हुने गरेको भए पनि सरकारले चासो नदिएको उनको अरोप छ ।  हाल सप्तरीमा शीतलहरबाट पीडित जनताको उद्दारमा खटिएका यादवले आवश्यक जति लत्ताकपडा वितरण गर्न नसकिएको बताए ।

मधेशी पनि नेपाली जनता हुन भन्ने सोचको विकास अझै पनि हुन नसकेकोले समस्या आउने गरेको यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्