Logo

जाति समुदायको साझा पर्व माघी : महत्व र मनाउने तरिका (भिडियोसहित)



१ माघ, काठमाण्डौ । माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति ।

हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।

नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।

थारु समुदायले यसरी मनाउँछन् माघी

थारू समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । बिहानै सूर्य नउदाउँदै थारू समुदायले नजिकको नदी, तलाउ, कुवामा गई फूल, चामल, पैसा हातमा लिई नुहाई ढुङ्गालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाई भगवान् महादेवको दर्शन गरेका छन् ।

नदी तलाउमा नुहाएर महादेवको दर्शन गरे वर्षभरि गरेका पापकर्म हराएर जाने जनविश्वास रहेको छ । नुहाएर घर फर्केपछि दिदी–बहिनी, फुपू, भान्जाभान्जीका लागि पाँचदेखि सात अञ्जुली चामल , नुन–खुर्सानी छुट्यार्ई यस अवसरमा निसराउ दिने चलन रहेको छ ।

त्यसपछि गाउँका मान्यजनबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पीठोको ढिक्री, बंगुरको मासु, अन्दी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिन्छ । वडघरियाको घरबाट शुरु गर्दै मघौटा नाच बस्तीका सबैको घरघरमा गई नाच्दै मनोरञ्जन गर्ने चलन छ ।

मघौटा नाचमा दक्षताअनुसार नगद नाच्ने महिलाले उतानो परी आँखाको परेला र मुखबाट उठाउने गर्दछन् । माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा र सामाजिक कार्यको योजाना बनाइने गरिन्छ । विगतका वर्षको योजनाको समीक्षा गरिन्छ । यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने वडघरियाको छनोट गरिन्छ ।

माघी पर्व शुरु हुनु एक दिन अगावै गाउँका थारू समुदायले सामूहिक रुपमै सुँगुर, बाख्रा, कुखुरा काटेर खाने गरेपनि माघ महिना शुरु भएपछि कुनै पनि जनावरको बध गर्न नहुने विश्वास छ । नयाँ वर्षका रुपमा माघी पर्व मनाइने भएकाले पढाइ तथा रोजगारीका लागि बाहिरिएका थारू समुदायका व्यक्ति माघी मनाउन घर फर्कने गरेका छन् । थारू बूढापाकाका अनुसार माघी पर्वसँगै नयाँ कामको शुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रूखमा नयाँ पालुवा पलाउने भएकाले थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा मान्ने गरेका छन् ।

माघ महिनालाई थारू समुदायले शुभ महिनाका रुपमा लिने गर्दछन् । यस महिनामा गरिने सम्पूर्ण कार्य सफल हुने टिकुराम दहितले बताए । भलमन्सको घरमा जम्मा भएर गाउँका सबैले मनोरञ्जन गर्ने चलन भने हाल हराउँदै गएको छ । माघीमा गाउँघरमा ढोग स्यावा लाग्ने, दिदी–बहिनीलाई कोशेलीसहित भेट्न जाने, मघौटा नाचको आयोजना गर्ने, अंशबण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्नेलगायत कार्य चल्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्