काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज भेटेरै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तत्काल केन्द्रिय कार्य समिति बैठक बोलाउन दबाब दिएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले आज सभापति देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले देउवालाई यस्तो दबाब दिएका हुन् ।
भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधिको पनि सहभागिता रहेको थियो । उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई भनेका छन्।
प्रधानमन्त्री देउवा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह मात्रै गरेनन बरु विधि र विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न देउवालाई निर्देशन दिएका छन् ।
पछिल्लो समय नेता पौडेलले देउवाविरुद्ध निरन्तर भेला तथा बैठक समेत सञ्चालन गर्दै आईरहेका छन् । हिजोमात्रै नेता पौडेलले सिटौला र अर्जुनरसिंह केसीसँग महाराजगञ्जको एक होटेलमा विशेष वार्ता गरेका थिए । आजको भेटमा समेत देउवाले पार्टी संकटमा रहेको बताउँदै करेक्सन गरेर नवजीवन दिन सभापतिलाई आग्रह गरे । जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको बताएका थिए।