Logo

मन्त्रीपरिषद बैठक बस्दै, प्रदेश प्रमुख र सभा बस्ने ठाउँ तोकिने



३ माघ, काठमाण्डौ । मन्त्रीपरिषदको बैठक वालुवाटारमा सुरु भएको छ । आजको बैठकले प्रदेश प्रमुखको नियक्ति गर्ने बताइएको छ ।
नेपालमा पहिलोपटक नयाँ पद प्रदेश प्रमुख गभर्नर नियुक्ति गर्न लागेको हो । प्रदेश सभा बस्नका लागि कुनै उचित ठाउँ पनि तोक्ने बताइएको छ ।

कानुनमन्त्री यज्ञबहादुर थापाले आजै प्रदेश प्रमुख तोक्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै थापाले मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र सभा बस्ने ठाउँको बारेमा निर्णय गर्ने बताएका हुन् ।
राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बस्न लागेको हो ।

मंगलबार राजनीतिक दलबीचमा कुनै पनि परामर्श हुने नसकेपछि बैठक स्थगित गरिएको थियो।
माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेरहेको छ । माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ मतदाता नामावली प्रकाशन गर्दैछ । प्रदेश प्रमुख तोकिएको समयमा नियुक्त नभए राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने आयोगको चेतावनी छ ।

यसअघि सरकारले प्रतिनिधिसभा निर्वाचन लगतै प्रदेश प्रमुख सिफारिसको तयारी गर्दै केही नाममा समेत छलफल गरेको थियो। तर, आफूहरुसँग परामर्श समेत नगरी प्रमुख सिफारिस गर्न लागेको भन्दै वाम गठबन्धनले आपत्ति जनाएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी चयनको निर्णय गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्