Logo

कोइराला परिवारको अभियान : सभापतिमा शेखर, प्रधानमन्त्रीमा शशांक, सुजाता पनि शक्तिशाली



३ माघ, काठमाण्डौ । नेपाली कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने प्रयासस्वरुप विविध विषयमा छलफल गरेका छन् । मंगलबार भएको छलफलमा कांग्रेस कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको बताइएको छ ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले व्यहोर्नुपरेको नमिठो हारको समीक्षा र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनेबारे कुराकानी भएको कुरा बाहिर आए पनि तीन कोइरालाबिचमा आगामी दिनको पदीय बाँडफाँटका विषयमा पनि सहमति भएको दाबी गरिएको छ ।

शशांक, शेखर र सुजाताबिचको छलफलमा पार्टीको नेतृत्वका लागि अग्रसर हुने गरी अगाडि बढ्ने सहमति भएको थियो । आगामी चौँधौ महाधिवेशनमा डा. शेखर कोइराला पार्टी सभापतिमा उठ्ने सहमति भएको छ भने डा. शशांक कोइरालालाई आगामी दिनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको खुलासा भएको छ । त्यसैगरी सुजाता कोइरालालाई पार्टीमा शक्तिशाली भूमिका राख्ने सहमति भएको छ । सुजातालाई पार्टीको विदेश विभागमा अझै शक्तिशाली बनाउने विषयमा पनि शशांक र शेखर एकमत छ ।

गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका तीन नेताले सात महिनापछि अब सशक्त ढंगले पार्टीमा प्रस्तुत हुने सहमति गरेका हुन् । मंगलबार गिरिजापुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले तीन घन्टा छलफल गरेका थिए ।

बिहीबारका लागि चुनावी समीक्षासहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएपछि भएको कोइराला परिवारका तीन नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।

झन्डै दुई वर्षअघि सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस नेतृत्व कोइराला परिवारबाट शेरबहादुर देउवाको हातमा पुगेको थियो । महामन्त्रीमा बीपीपुत्र शशांक निर्वाचित भएका थिए । तर, त्यसयताका निर्वाचनमा कांग्रेस नेतृत्वकै कारण कमजोर भएको र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको तीनै नेताको निष्कर्ष छ ।

उनीहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता दुवै असफल भएकाले पार्टी कमजोर बनेको निष्कर्षसमेत निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्