Logo

कसको चुनाव खर्च कति ? माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च यस्तो छ



३ माघ, काठमाडौँ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाका उम्मेदवाहरुले चुनावी खर्च बुझाउन क्रम जारी छ । देशभरका विभिन्न क्षेत्रबाट उठेका उम्मेदवाहरहरुले खर्च विवरण निर्वाचन अयोगमा बुझाएका हुन् । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १५२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
उनका अनुसार प्रतिनिधिसभाका ६१ र प्रदेशसभाका ९१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए ।

काठमाडौँ क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार, क्षेत्र नं ५ बाट विजयी एमालेका महासचिव ईश्वर पोखरेलले २४ लाख १४ हजार ७८, क्षेत्र नं १ बाट विजय नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १७ लाख ३० हजार ५००, क्षेत्र नं ४ बाट उम्मेदवार विजयी कांग्रेसका युवा नेता गगन थापाले २४ लाख १३ हजार १०० रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी काठमाडौँ क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले २२ लाख ५६ हजार र क्षेत्र नं ९ बाट विजयी एमालेका नेता कृष्णगोपाल श्रेष्ठ १२ लाख ७८ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २१४ र काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १६ लाख ४१ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले २० लाख ५३ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का विजयी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १९ लाख ८ हजार, पराजित नेपाली कांग्रेसका पुष्पबहादुर शाहले २० लाख ६२ हजार र झंकरबहादुर शाहीले एक लाख ५९ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २५ लाख र प्रदेशसभा सदस्यका लागि १५ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्