Logo

प्रदेश राजधानीमा कसले हारे ? कसले जिते ?



काठमाडौं, ३ माघ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ।

प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। नेपाल सरकारकै मन्त्रीहरुवीच कुन ठाउँलाई प्रदेश राजधानी बनाउने भन्नेबारे चर्को विवाद थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयको प्रयासपछि आज बोल्ड निर्णय लिएका हुन् । यो सँगै देशभरि अहिले स्वागत र विरोध दुवै थरि जुलुश निस्किएका छन् ।

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नबनाए कडा संघर्षमा उत्रिने चेतावनी दिँदै आएको उद्योगमन्त्री सुनिलबहादुर थापाले हारेका छन् । धनकुटालाई नै प्रदेशको राजधानी बनाउनुपर्ने उनको लाख कोशिश खेर गएको छ । यो लडाईमा उनी सम्मिलित मन्त्रिपरिषदका सदस्यद्धय विजयकुमार गच्छदार र ज्ञानेन्द्र बहादुर कार्कीले जितेका छन् ।

अब कुरा गरौं २ नम्बर प्रदेशको । यो प्रदेशको राजधानी जनकपुर हुनुपर्छ भन्ने सुरुदेखि नै माँग थियो । यदाकदा वीरगन्जलाई बनाउनुपर्छ भन्ने आवाजहरु भ्ने नउठेका होइनन् । तर जनकपुरलाई प्रदेशको राजधानी बनाउने कुरामा कुनै विवाद नभएको बुझिन्छ।

त्यस्तै ३ नम्बर प्रदेशको राजधानी हैटौंडा भएसँगै राप्रपा अध्यक्ष कमल थापा र कांग्रेस नेता ईन्द्र बहादुर बानियाँको नैतिक जित भएको छ । उनीहरुले सुरुदेखि नै हेटौंडालाई नै राजधानी बनाउनुपर्ने अडान लिँदै आएका थिए । उनीहरुसँग एमाले नेता विरोध खतिवडा पनि ३ हेटौंडालाई राजधानी बनाउनुपर्छ भनेर कम्मर कसेर लागिपरेका थिए ।

त्यस्तै चार नम्बर प्रदेशमा पनि खासै विवाद थिएन् । सबै हिसाबले पोखरा पायक पर्ने शहर भएकोले दलहरुवीच करिब सहमति थियो ।

सबैभन्दा विवाद रहेको ५ नम्बर प्रदेशको राजधानी रुपन्देही भएसँगै नेताहरु विष्णु पौडेल, बालकृष्ण खाँड, दिपक बोहरा, प्रदिप ज्ञवाली, चन्द्र भण्डारी, टोपबहादुर रायमाझीको जित भएको छ । उनीहरु सुरुदेखि नै ५ नम्बर प्रदेशको राजधानी बुटवल हुनुपर्छ भन्ने पक्षमा थिए । उनीहरुले लामो समयदेखि नै आन्दोलन समेत गरिरहेका थिए ।

बुटवललाई नै राजधानी बनाउनुपर्छ भनेर सुरुवातमै घोषणा गर्ने नेतामा विष्णु पौडेल अग्रस्थानमा थिए । उनले पार्टीभित्र पनि यसबारेमा संघर्ष गरेका थिए । उनले सार्वजनिक कार्यक्रममा भन्ने गरेका थिए,‘जसले जे भनेपनि हुन्छ, तर ५ नम्बर प्रदेशको राजधानी बुटवल (रुपन्देही) हुन्छ।’

यता ५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भन्नेहरु मन्त्री डिल्ली चौधरी, नेताहरु क्रमशः शंकर पोखरेल, दिपक गिरी, कृष्णबहादुर महराको हार भएको छ ।

प्रदेश नम्बर ६ मा भने खासै विवाद थिएन् । वीरबहादुर बलायर, प्रेम बहादुर आले र भरत बहादुर खडकाले हारे । तर सबै हिसावले ६ नम्बर प्रदेशको राजधानी सुर्खेत हुनुपर्छ भन्नेहरु पूर्णबहादुर खड्का, जीवन बहादुर शाही, महेन्द्र बहादुर शाहीको जित भएको छ ।

यता ७ नम्बरमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बाजी मारे । उनले सुरुदेखि नै ७ नम्बर प्रदेशको राजधानी धनगढी हुनुपर्छ भन्नेमा थिए । देउवासँगै एमाले उपाध्यक्ष भीम रावलपनि धनगढी नै राजधानी हुनुपर्छ भन्ने पक्षमा थिए । त्यस्तै ७ नम्बर प्रदेशको राजधानी धनगढी नै हुनुपर्छ भनेर लामो समयदेखि लागिपरेका थिए । उनले पार्टीभित्र पनि यसबारेमा चर्कोसँग आवाज उठाएका थिए ।

को भए प्रदेश प्रमुख ?

प्रदेश प्रमुखहरु पनि तोकिएका छन्। प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन्। त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ तोकिएका छन्।
प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएकी छन्। साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्। प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्