Logo

नवराज सिलवाल अमेरिका पुगे, केपी ओली प्रधानमन्त्री बनेपछि नेपाल फर्किने



४ माघ,काठमाण्डौ । पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ । प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वा्चित हुन् ।

संसद भवन प्रवेश गर्ने तयारीमा रहेका सिलवाल यतिबेला भने नेपालमै बस्न नसक्ने स्थिती आएको छ । कि त अनुसन्धानमा सहयोग गर्नका लागि सहजै प्रहरीको जानु पर्यो, कि त भाग्नु पर्यो । अहले नवराज सिलवाल भागेका छन् । अर्थात उनलाई प्रहरीले फेला पार्न सकेको छैन । यस अर्थमा उनी लुकिरहेका छन् ।

केही समय अघि नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय ललितपुरलाई तत्काल नवराज सिलवाललाई पक्राउ गर्नु भनि पत्र पठाएको थियो । सिलवालको घर ललितपुर जिल्लामा भएकाले सोही जिल्ला प्रहरीलाई प्रधान कार्यालयले पक्रन आदेश दिएको थियो । त्यसलगत्तै सिलवाल बेपत्ता भए । मलेसिया पुगेको खबर फैलियो । यता प्रहरी भने सिलवालको घरसम्म पुगेर रित्तै फर्कियो ।
तर सिलवाल न घरमा थिए, नत मलेसिया गएको नै पुष्टी भयो ।

बुधबार प्रहरी प्रधान कार्यालयले सिलवाललाई जहाँ भेटे पनि पक्राउ गर्न भनि सातै वटा प्रदेशका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
पक्राउ पर्ने संकेत प्रहरीभित्रबाटै सुचना पाएपछि उनी नेपाल बाहिर छन् । नेपाल प्रहरीमा हुँदा मन पराइएका सिलवालका शुभचिन्तक प्रहरीमा नहुने कुरै भएन । तसर्थ अझै पनि प्रहरीभित्रको गोप्य सुचना सिलवालले पाउने नै भए ।

हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो बनेको राजनीतिक दल नेकपा एमालेका नेता बनिसकेका सिलवाल यतिबेला असुरक्षित महसुस गरेरै देशबाहिरै रहेका छन् । हो, अहिले सिलवाल अमेरिका पुगिसकेका छन् । परिवारका केही सदस्यसहित सिलवाल अमेरिका पुगिसके, यता प्रहरीले देशभर खोजी गरिरहेको छ ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो । सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।

ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नवनिर्वा्चित नवराज सिलवालले पूर्व निर्धारि कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै आफू ’फरार’ नभएको जानकारी दिएका थिए । तर, उनले मलेसियमा जुन कार्यक्रमका लागि गएको बताएका थिए, त्यहाँ त्यस्तो कुनै कार्यक्रम नै थिएन । साथै उनले जुन एयरलाइन्सबाट मलेसिया गएको जानकारी दिएका थिए, त्यसको समेत फ्लाइट सेड्युल नै गलत थियो । त्यसयता कुनै पनि मिडियामा उनी सार्वजनिक भएका छैनन् ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिए लगत्तै राजधानीकै एउटा गोप्य ठाउँमा बसेर सिलवालले पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रम धमलाको हमलामा अन्तरवार्ता दिएका थिए ।

त्यस कार्यक्रममा आफूलाई पक्राउ गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिएका सिलवाल त्यसपछि एकाएक बेपत्ता जस्तै भए । एमालेबाट चुनाव जितेका सिलवाल अहिले अमेरिका पुगेका छन्, र अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल फर्किने रणनीतिमा छन् ।

सिलवाल सडकमार्ग हुँदै भारतको दिल्ली पुगेर त्यहाँबाट तेस्रो मुलुक पुगेका हुन् । सिलवाल काठमाण्डौबाट हेटौँडा–वीरगंज हुँदै दिल्ली गएका थिए । दिल्लीबाट मलेसिया गएर केही दिन बसे । त्यतिबेला नै उनले आफू पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया आएको र फरार नभएको सन्देश दिएका थिए ।

त्यसलगत्तै उनी कहिले मलेसिया गए? कुन एयरलाइन्सबाट गए? कुन कार्यक्रमका लागि ? आदि इत्यादी खोजि भयो । तर केही पनि तथ्य फेला परेन । तर सिलवाल मलेसिय गएका थिए, तर काठमाण्डौबाट सिधै हवाइ मार्ग प्रयोग गरेनन् । त्यसैले त्रिभुवन विमानस्थलमा समेत उनी गएको रेकर्ड फेला परेन । न त हवाई उडानबारे जानकारी मिल्यो ।

मलेसियामा केही दिन बसेर इन्डोनेसियासमेत पुगेका थिए सिलवाल । त्यहाँबाट अमेरिका पुगेका उनी अब वाम गठबन्धनको सरकार बनेपछि नेपाल आउने सम्भावन छ । एमालेको नेतृत्व तहकै सल्लाहमा उनी पक्राउबाट जोगिनका लागि अमेरिका पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्