Logo

कांग्रेस बैठक राष्ट्रियसभा चुनावको तयारीका लागि, चुनावी समिक्षा दोस्रो प्राथमिकता



४ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा चुनावमा बेहोरेको पराजयको समिक्षा हुने अपेक्षा गरिए पनि यसको सम्भावना ज्यादै न्युन छ ।

आसन्न राष्ट्रियसभा चुनावको तयारीका विषयमा बैठक केन्द्रित हुने नेता बालकृष्ण खाँडले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खाँडले राष्ट्रियसभा चुनावका लागि मतदातालाई कसरी प्रशिक्षित गर्ने, उम्मेदवार कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल गरिने बताए ।

उपयुक्त मान्छेलाई कसरी उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने उनले बताए । यसका साथै आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुन सक्ने खाँडले बताएका छन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।

केन्द्रिय समितिको बैठक पछि केही दिनमा महासमितिको बैठक पनि बोलाईने खाँडले बताएका छन् । कांग्रेसलाई गतिशिल बनाउनका लागि मार्गचित्र कोरेर अगाडि बढिने उनले बताए ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरेलगतै नेताहरुले गम्भीर समिक्षाको आवश्यकता औंल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक राख्न माग गर्दै आएका थिए । यद्यपि, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले शीर्ष नेताहरु परामर्श मात्रै गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्