Logo

पत्याउनुहुन्छ ? प्रचण्ड र विक्रम पाण्डेको चुनावी खर्च नौ–नौ लाख मात्रै



४ माघ, चितवन । चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका नेकपा माओवादीको अध्यक्ष प्रचण्ड र राप्रपाका विक्रम पाण्डेको चुनावी खर्च विवरण सार्वजनिक भएको छ । दुवै उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण पेश गरेका हुन् ।

चुनाव जित्नका लागि दुवै नेताले करोडौँ खर्च गरेको अनुमान गरिएको थियो । तर उनीहरुले बुझाएको खर्च विवरणमा भने निकै कम देखाइएको छ ।
निर्वाचन आयोगमा बुझाएको खर्च विवरण न प्रचण्डको पत्याउने खालको छ न पाण्डेको नै ।

प्रचण्ड र पाण्डेबीच चुनावी प्रतिस्पर्धाजस्तै खर्चमा पनि उच्च प्रतिस्पर्धा नै थियो । उनीहरुले यति नै रकम खर्च गरे भन्ने विषयमा अनेक चर्चा भए पनि दुवैको चुनाव खर्च करोड घटी नभएको चर्चा चितवनमा हुने गरेको छ । तर प्रचण्डले नौ लाख ९४ हजार ५४२ र पाण्डेले नौ लाख ३९ हजार ९४० रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् ।

खर्च विवरणमा पाण्डेको भन्दा प्रचण्डको ५४ हजार रकम बढी भएको देखिएको छ ।

प्रचण्ड र विक्रम पाण्डेको मात्रैं होइन चितवन निर्वाचन १ र ३ का उम्मेदवारहरुले बुझाएको खर्च विवरण पनि आयोगले दिएको अधिकतम सीमाको नजिक पनि पुगेको छैन । चितवन १ बाट निर्वाचित एमाले नेता सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६७३ खर्च भएको भन्दै विवरण पेश गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च १६ लाख २९ हजार १७० रुपैयाँ छ ।

चितवन २ बाट निर्वा्चित एमाले नेता कृष्णभक्त पोखरेलको चुनाव खर्च १४ लाख ३९ हजार ८०० छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांंग्रेसका नेता शेषनाथ अधिकारीले १३ लाख ९३ हजारको विवरण बुझाएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा तीन निर्वाचन क्षेत्रका कुल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । खर्च विवरण पेश नगर्नेमा साना दलका उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्