Logo

‘प्रदेश प्रमुखहरुलाई चेन्ज गर्नुभन्दापनि उचित तालिम दिनुपर्छ’ : कर्ण



“चुनाव हारेकाहरु काम नभएर अहिले आन्दोलनमा उत्रिएका छन्”
काठमाडौं, ५ माघ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले मुलुकमा १० प्रदेश भईदिएको भए अहिले प्रदेशको अस्थायी राजधानीको नाममा कुनै आन्दोलन नै नहुने थियो भन्ने धारणा राखे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भने,‘सरकारले तोकेको अस्थायी राजधानीको बारेमा थुप्रै ठाउँमा विवादहरु छन्, आन्दोलन भएका छन्।’

उनले ७ प्रदेश वैज्ञानिक नभएको समेत जिकिर गरे । उनले भने,‘जनताले एकातिर माँग गरे, तीन ठूला पार्टीहरुले अर्के गरिदिए, त्यसैले ७ प्रदेश अवैज्ञानिक थियो, अहिलेको आन्दोलन पनि त्यसैको प्रतिफल हो।’

उनले २ नम्बर प्रदेशको राजधानी वीरगन्ज हुनुपर्छ भनेर अहिले जारी आन्दोलनबारे टिप्पणी गर्दै भने,‘अहिले आन्दोलन जरुरी छैन, आन्दोलन गर्नुको कुनै औचित्य छैन, धैर्यता गर्नुपर्ने थियो, निर्वाचित संस्थाले फंक्सन गरेको छैन, अहिलेको आन्दोलनमा काम नपाएकाहरु खासगरी चुनाव हारेकाहरुले गरेका हुन्।’ उनले चुनावमा हारेकाहरुले काम नभएकोले आन्दोलन गरिरहेको आरोप लगाए ।

त्यस्तै उनले सरकारले हालै नियुक्त गरेका प्रदेश प्रमुखहरु निर्वाचित नभएकोले नयाँ सरकारले यसबारेमा पनि विचार गर्न सक्ने बताए । प्रदेश प्रमुखहरुलाई अनुभव केही पनि नभएकोले यसको लागि बरु सेमिनार, गोष्ठी र तालिमहरुको व्यवस्था गर्नुपर्नेतिर सरकारको ध्यानाकार्षण गराए ।

उनले प्रदेश प्रमुखहरुलाई परिवर्तन गर्नुभन्दापनि तालिम प्रदान गर्नतिर ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘प्रदेश प्रमुख चेन्ज गर्दा असर पर्छ, संघीयतामा पनि असर पर्छ।’

उनले अब छिट्टै नयाँ सरकार गठन हुने पनि विश्वास दिलाए । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन हुँदैछ, संसदले पूर्णता पाएपछि नयाँ सरकार गठन हुन्छ।’



प्रतिक्रिया दिनुहोस्