Logo

अस्थायी राजधानीबारे अहिलेको ढाँचामा विरोध गर्नुको कुनै अर्थ छैन् : बडाल



नेकपा एमालेका नेता केशब बडालले सरकारले पर्याप्त विचार पुर्याएर नै प्रदेशको अस्थायी राजधानी तोकेको भएकोले अहिलेको ढाँचामा विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।

उनले भने,‘विधिको शासन मान्नुपर्छ, तर सरकारले निर्णय गर्दा सार्वजनिक रुपमा जनतासँग भन्नुुपर्दथ्यो, यो कारणले हामीले यो प्रदेशको राजधानी यहाँ तोक्यौं भनेर भनिदिएको भए अहिले देखिएकोजस्तो आन्दोलन हुँदैनथियो।’

नेता बडालले प्रदेशको स्थायी राजधानी प्रदेश सभाका सदस्यहरुको दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै भने,‘अहिले आन्दोलन गर्नुभन्दा पनि अब दुई तिहाई पुर्याउनको लागि मेहनत गर्नुपर्छ।’

आफूले एक वर्ष पहिल्यै नै लेख लेखर कुन प्रदेशको राजधानी कहाँ हुनुपर्छ भनेर वैज्ञानिक र वस्तुगत आधार नै पेश गरेको उल्लेख गर्दै भने,‘मैले त एक वर्ष पहिले (यद्धपी यो मेरो व्यक्तिगत विचार हो) नै लेखेको थिएँ, १ नम्बरको ईटहरी +विराटनगर, २ नम्बर प्रदेशको जनकपुर + ढल्केवर, ३ नम्बर प्रदेशको भत्तपुर, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको दाङ(त्यसमा पनि लमही), ६ नम्बर प्रदेशको सुर्खेत, र ७ नम्बर प्रदेशको धनगढी अत्तरिया हुनुपर्छ भनेको थिएँ ।’

उनले कि त सरकारले कार्यदलको आधारमा प्रदेशको अस्थायी राजधानी तोक्नुपर्दथ्यो वा पूनरावेदन अदालत भएको ठाउँ हेरेर गर्नुपर्दथ्यो भन्ने अभिव्यक्ति राख्दै भने,‘सरकारले जे निर्णय गरेको छ, यसमा पर्याप्त ध्यान दिएकै होला नि, अझ बढी ध्यान दिएको भए राम्रो हुन्थ्यो।’



प्रतिक्रिया दिनुहोस्