Logo

प्रदेश तीनको मूख्य मन्त्रीमा राजेन्द्र पाण्डेको दाबी “सर्वसम्मत हुन्छु”



७ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रदेश नम्बर ३ को मूख्यमन्त्री आफै हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पाण्डेले पार्टीले पनि आफैलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने दाबी गरेका छन् ।

धादिङ १ को प्रदेश १ बाट विजयी नेता पाण्डेले आफ्नो बारेमा कसैको पनि विमती नभएको भन्दै सर्वसम्मत रुपमा मुख्यमन्त्री बन्ने बताए । प्रदेशसभाका सासंदहरुको सपथ ग्रहण हुने दिन नै पाण्डेले आफूलाई मूख्यमन्त्रीको रुपमा दाबी गरेका छन् ।

प्रदेश नं ३ मा एमालेले स्पष्ट बहुमत ल्याएपछि सो पार्टीका अरु केही चल्तापूर्जा प्रदेश सांसदहरु पनि मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।
प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको हो । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् ।

काठमाडौंका स्थापित, धादिङका राजेन्द्र पाण्डेहरु निर्वाचनअगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका थिए । अष्ठलक्ष्मी शाक्य शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डेका अलावा सानुकुमार श्रेष्ठ, पशुपति चौलागाईं, अरुण नेपाललगायत पनि आकांक्षी बनेका छन् ।

तर पार्टीका उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेको चर्चा चले पनि पोलिटब्युरो सदस्यसमेत रहेका राजेन्द्र पाण्डेको दाबी पनि कमजोर छैन । तर शाक्यले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहेको प्रष्ट संकेत दिँदै पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गर्दै आएकी छिन् । महिला भएकाले पनि शाक्यको सम्भावना केही बलियो छ ।

तर स्थापित भने त्यति बलिया दाबेदार होइनन् । काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर स्थापित भिजन भएका नेता मानिए पनि पछिल्लो समय विवादमा धेरै तानिएका छन् । चुनावका बेला एमालेलाई नै नकारात्मक असर पर्ने खालका अभिव्यक्ति दिँदै व्यक्ति विशेषको विरुद्धमा लागेका स्थापित पार्टीभित्रै पनि आलोचित बन्दै गएका छन् ।

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ ।

नेता पाण्डेले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौडा बनाइए पनि त्यसलाई प्रदेशसभाले परिवर्तन गर्ने बताएका छन् । भौगोलिक रुपमा उचित र सबै क्षेत्रका जनतालाई पायक पर्ने ठाउँलाई प्रदेश राजधानी बनाइने उनले बताए ।

प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, कांग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक÷एक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोट जिल्ला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्