Logo

अब नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्छ : बस्नेत



काठमाडौं, ७ माघ । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै दुवै पार्टीको वैचारिक पक्षका सकारात्मक कुरालाई समेटेर नयाँ पार्टी बनाइने बताए । पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो ।

राष्ट्रियसभाको चुनाव सम्पन्न हुँदासम्म पार्टी एकता हुने दाबी गर्दै उनले फागुनको दोस्रो हप्ता एकीकृत पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
पार्टी एकता संयोजन समितिले सम्मानजनक तरिकाले कार्यविभाजन गरेर एकता प्रक्रिया टुङ्ग्याउने बस्नेतको भनाई छ । “दुई फरक धारका दलबिचको एकता जटिल छ । कम्युनिष्टका दुई फरक धारका वैचारिक पक्षलाई मिलाएर पार्टी एकता गर्छौँ ।” बस्नेतले भने । “ फेरी अर्को कम्युुुनिष्ट पार्टी हुने छैन भन्ने गरी सबैको कम्युनिष्ट पक्षधरको भावना समेटेर नयाँ पार्टी बनाउँछौँ । एमालेको शान्तिपूर्ण कम्युनिष्ट धार र माओवादीको सशस्त्र कम्युनिष्ट आन्दोलनका भावनालाई समेटेर एकता गर्छौँ ।”

राष्ट्रियसभा चुनावका लागि कतिपय व्यवहारिक पक्षलाई हेरेर तालमेल गरिएकाले माओवादी ३३ प्रतिशतमा खुम्चिएको बस्नेतको भनाई थियो । “जनताको अपेक्षा र आफूहरुले गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छौँ । देशको हितलाई केन्द्रमा राखेर अगाडि बढेका हौँ ।” बस्नेतले भने ।

२००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेकाले जनताले वाम गठबन्धनलाई स्थिर सरकार विकासका लागि म्यान्डेट दिएको उनको भनाई थियो ।

सोही साक्षात्कारमा बोल्दै बस्नेतले आवश्यकता अनुसार सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै सुमार्गीको पनि हुनुपर्ने बताए । व्यक्तिगत रुपमा कसैका बारेमा बहस गर्नुभन्दा पनि शुसाशन कायम राख्नका लागि आवश्यक काम सरकारले गर्नुपर्ने बस्नेतको भनाई थियो ।

सुमार्गी र माओवादी अध्यक्षबीचको सम्बन्धका बारेमा अनावश्यक चर्चा भएको बस्नेतको स्पष्टोक्ति थियो । “तथ्यको पारख नगरी प्रचारको पछि नलाग्न म आग्रह गर्छु । प्रचण्डसँग जोडेर कुरा गर्नुको कुनै तुक छैन”–बस्नेतले भने ।

प्रचण्डको राजनीतिक संरक्षणमा सुमार्गीले अवैध रुपमा नेपालबाट विदेश पैसा लाने र फर्काउने गरेको र संरक्षण रहेको भन्ने आरोप लाग्दै आएपछि नेता बस्नेतले त्यसको खण्डन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्